RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/३ गते
९३७ पटक

काठमाडौँ – देशभरको मौसम आइतबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । यस्तै सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्