RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/६ गते
१६७० पटक

दोलखा-राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट यही साउनभित्र ३०४ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । आयोजनाबाट हरेक १५ दिनमा एउटा युनिट सञ्चालन थप्दै जाने योजना अनुसार अब एक हप्तापछि अर्को ७६ मेगावाटको एउटा युनिट थप हुने र त्यसको १५ दिनपछि अर्को चौथो युनिट पनि सञ्चालनको तयारी छ ।

आयोजनाले आगामी भदौदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने भएको छ । अबको २ महिनामा ६ वटै युनिट सञ्चालनमा आएपछि आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने भएको हो । अहिले आयोजनाको २ वटा युनिटबाट १५२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । साउनभित्र थप २ वटा युनिट सञ्चालन गर्ने तयारी भइरहेको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले बताए ।

‘पहिलो र दोस्रो युनिट सञ्चालनमा आइसकेका छन्,’ उनले भने, ‘थप २ वटा युनिट पनि साउनभित्र सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’ उनले अबको १ महिनामा थप १५२ मेगावाट विद्युत् उत्पादन प्रणालीमा थप भई आयोजनाबाट ३०४ मेगावाट विद्युत् उत्पादन हुने बताए ।
अब २ साताको फरकमा तेस्रो र चौथो युनिट सञ्चालन गरिने उनले बताए । पाँचौं र छैटौं युनिट भदौभित्र सञ्चालन गर्ने योजना छ । यी दुई युनिट सञ्चालनमा आएपछि मात्रै आयोजनाले ४५६ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।

अहिले पहिलो र दोस्रो युनिटले पूर्ण क्षमतामा परीक्षण उत्पादन गरिरहेका छन् । दुवै युनिटको गरी १५२ मेगावाट विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ । पहिलो युनिट असार २१ गते तथा दोस्रो युनिट असार २९ गते प्रसारण प्रणालीमा जोडिएको थियो ।

‘परीक्षणका क्रममा केही समस्या देखिन्छन्, त्यसलाई मर्मत गर्दै अघि बढ्ने हो,’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘पहिलो युनिट सञ्चालनमा आएपछि ट्रान्सफर्मरमा केही समस्या आयो, केही दिन विद्युत् उत्पादन बन्द गरेर मर्मत ग¥यौं, त्यो पनि सञ्चालनमा आइसकेको छ ।’ अहिले दुवै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ ।

आयोजनाले उत्पादन गरेको विद्युत् विद्युत्गृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००-२२० केभी ढल्केबर सबस्टेसनसम्म लगिएको छ ।

प्रतिकृया दिनुहोस्