RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/१६ गते
८५९ पटक

काठमाडौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व खेलकुदको कुम्भमेला ३२औं गीष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

जलपरी गौरिका सिंह, एलेक्स शाह र सुटिङकी कल्पना परियारले आफ्नो प्रदर्शनमा सुधार गरे पनि अघिल्लो चरण पार गर्न सकेनन् । एथलेटिक्सकी सरस्वती चौधरीले औसतको प्रदर्शन गर्दा जुडोकी सोनिया भट्ट आफ्नो प्रतिद्वन्द्वीसामु टिकेर खेल्न नसक्दा यसपटकको ओलम्पिकमा नेपाल सहभागितामै सीमित बन्यो ।

पहिलो चरण पार गर्नु नै नेपालका लागि चुनौतीको कुरा हो, पदक त अलि पर नै छ । अझ त्योभन्दा अघि छनोट भएर ओलम्पिकमा खेल्न जानु नै चुनौती छ । नेपाल ओलम्पिकमा सहभागिता र व्यक्तिगत प्रदर्शनमा भएको सुधारमै रहिरहेको छ ।

तेक्वान्दोका स्टारद्वय संगिना वैद्य र दीपक विष्टबाहेक हालसम्म झन्डै १ सयको हाराहारीमा ओलम्पियन पुग्दा सबै खेलाडी युनिभर्सियालिटी कोटा र वाइल्ड कार्डको सहारामै ओलम्पिक खेल्दै आएका हुन् । सन् २००४ मा संगिना वैद्य र २००८ मा दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए ।

यसपटक युनिभर्सियालिटी प्लेसअन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले ओलम्पिक खेल्ने अवसर पाउँदा वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । नेपाल ओलम्पिक कमिटीले ओलम्पिकमा सहभागी हुन जानुअघि गरेको पत्रकार सम्मेलनमा यसपटकको ओलम्पिक जात्रा नभई यात्रा हुने बताएको थियो । यही यात्रा भएको ओलम्पिकमा के–के भयो त ?

जम्बो टोली
ओलम्पिक कमिटीले पत्रकार सम्मेलन गर्दै यसपटकदेखि अ‍ोलम्पिक जात्रा नभई यात्रा हुने बताएका थिए । यसको सोझो अर्थ आवश्यकताभन्दा कम ओलम्पिकमा जाने भन्ने नै हो । कोभिडका कारण पनि कोटा कटौती भएको थियो । ओलम्पिकका ५ खेलाडीसहित २६ पदाधिकारी ओलम्पिकमा जाने सूची सार्वजनिक गरेको थियो । खेलाडी कम पदाधिकारीको जम्बो टोलीको ओलम्पिक यात्राले सुरुमै आलोचना भएको थियो ।

खेलाडी र प्रशिक्षकभन्दा झन्डै दोब्बर पदाधिकारी ओलम्पिक जाने टोलीमा रह्यो । अन्तिम समयमा तीन जना पदाधिकारीले विभिन्न कारण देखाउँदै ओलम्पिकमा गएनन् । तेज गुरुङ, शिव कोइराला र पीताम्बर तिम्सिना ओलम्पिक नजाने सूचीमा रहे । पौडी खेलाडी गौरिका सिंह बेलायतबाट सिधै जापान पुगिन् । यस्तै नेपाली टोलीमा रहेकामध्ये एक जना टोकियोस्थित नेपाली दूतावासबाट र एक जना टोकियोस्थित स्थानीय स्वयंसेवक थिए ।

सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल रहे । भिन्न खेलका अध्यक्ष भिन्न खेलको व्यवस्थापक बनेर जाँदा चर्काे आलोचना भयो । त्यसमा सबैभन्दा चर्चा सांसद समेत रहेकी नेपाल कबड्डी संघका अध्यक्ष, ओलम्पिक कमिटीका सचिव नेकपा एमाले नेता बामदेव पत्नी तुलसा थापा रहे । उनी टोकियोमा जुडो खेलको व्यवस्थापक बनेर जापान पुगेकी थिइन् ।

उद्घाटनको मार्चपासमा दुई खेलाडीबाहेक ६ पदाधिकारी थिए । त्यसमा खेलाडीपछि तुलसा र सदस्य सचिव थिए । सम्बन्धित खेलको फिजियो र म्यानेजर जान्नुपर्ने भए पनि विदेश भ्रमणको कोटा मिलाउनकै लागि यसपटक फरक खेलाडीसँगै ओलम्पिक कमिटीको विभिन्न पदमा रहेका विभिन्न खेलको व्यवस्थापक बनेर टोकियो पुगेको थियो । अन्त्यमा टोली व्यवस्थापकविहीन बन्न पुग्यो ।

प्रतिकृया दिनुहोस्