RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/४/३२ गते
१६९ पटक

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीको बहिर्गमनसँगै तालिबानले राष्ट्रपति भवन समेत कब्जा गरेपश्चात् अब उनीहरूका कुन कुन नेताले सत्ता सञ्चालनको नेतृत्व गर्नेछन् भन्ने प्रश्नहरू उठिरहेका छन् ।

यो प्रश्नको जबाफ खोज्दा धेरै चर्चा दुईवटा नामको भइरहेका छन्– हिबातुल्लाह अखुन्दजादा अनि मुल्लाह अब्दुल गनी बरादर । यी दुई को हुन्, तालिबानभित्र यिनको भूमिका तथा यिनको व्यक्तित्व कस्तो छ ?

मुल्लाह गनी बरादर

मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए । सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए ।

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो । सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन ।

त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी रिहाइ गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो । सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्‍यो ।

उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए । पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए ।

सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो । उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे । इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो । उनी दुर्रानी समुदायका भएका ठानिन्छ ।

हिबातुल्लाह अखुन्दजादा

हिबातुल्लाह अखुन्दजादा अफगान तालिबानका प्रमुख नेता हुन् । उनी इस्लाम धर्मका विद्वान हुन् जो कान्दहारबाट आएका हुन् । उनले नै तालिबानको दिशा बदलेर अहिलेको अवस्थामा ल्याइपुर्‍याएको ठानिन्छ ।

तालिबानको गढ रहेको कान्दहारसँग जोडिएका कारण उनले तालिबान नेतृत्वमा आफ्नो पकड बनाउन सकेको ठानिन्छ । सन् १९८० को दशकमा उनले तत्कालीन सोभियत सङ्घको विरुद्ध अफगानिस्तानमा विद्रोहका एक कमाण्डरको भूमिका खेलेका थिए ।

तर उनको पहिचान एक सैन्य कमाण्डरको रूपमा भन्दा पनि एक धार्मिक विद्वानको रूपमा ज्यादा भएको पाइन्छ । अफगान तालिबानका प्रमुख नियुक्त हुनुभन्दा पहिले पनि उनी तालिबानका शीर्ष नेताहरूमध्ये रहेका थिए । धर्मसँग जोडिएका आदेशहरू उनै दिन्थे ।

उनले दोषी पाइएका हत्यारा वा अवैध यौन सम्बन्ध राख्नेहरूलाई हत्याको सजाय तथा चोरी गर्नेहरूलाई हात काट्ने सजायका आदेश दिएका थिए । हिबातुल्लाह तालिबानका पूर्वप्रमुख मोहम्मद मन्सुरका उपप्रमुख पनि थिए ।

सन् २०१६ को मे महिनामा अमेरिकी ड्रोन हमलामा मन्सुरको मृत्यु भएको थियो । मन्सुरले आफ्नो इच्छापत्रमा हिबातुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए ।

करिब ६० वर्षका हिबातुल्लाहले जीवनको धेरै समय अफगानिस्तानमै बिताएका छन् । हिबातुल्लाहको नामको अर्थ हुन्छ, ‘अल्लाहको तर्फबाट प्राप्त उपहार ।’ उनी नुरजाई समुदायबाट आएका हुन् ।

अन्य तालिबान नेता को को छन् ?

तालिबानको वर्तमान नेतृत्व संरचनामा हिबातुल्लाह अखुन्दजादा शीर्ष स्थानमा छन् र उनी राजनीतिक, धार्मिक तथा सैन्य मामिलाका प्रमुख रहेका छन् ।

राजनीतिक मामिला हेर्ने उनका उपप्रमुख मुल्लाह गनी बरादर हुन् । सैन्य मामिला हेर्ने उपप्रमुख चाहिँ पूर्व तालिबान प्रमुख तथा संस्थापक नेता मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुब हुन् ।

हक्कानी सञ्जालका प्रमुख समेत रहेका सिराजुद्दिन हक्कानी पनि हिबातुल्लाहका अर्का उपप्रमुख हुन् । मुल्लाह अब्दुल हकीम तालिबानका वरिष्ठ न्यायाधीश हुन् र उनले तालिबानको न्यायिक संरचनाको अगुवाइ गर्छन् ।

तालिबानको एउटा नेतृत्व परिषद पनि रहेको छ । २६ सदस्य रहेको रहबारी शुरालाई तालिबानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ ।

तालिबानको काबुल यात्रा : यस्तो छ समयक्रम

एप्रिलः अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा । मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो ।

मेः तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण । अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात ।

जुनः तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ । उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण ।

२१ जुलाईः एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा ।

६ अगस्टः लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी ।

१३ अगस्टः दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा

१४ अगस्टः उत्तरी सहर मजार–ए–शरिफमाथि तालिबानको कब्जा ।

१५ अगस्टः युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, राष्ट्रपति भवनमा तालिबान लडाकुहरू प्रवेश ।

के हो तालिबान ?

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो ।

अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए । साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ ।

पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो । तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो । चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो ।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो । टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो । अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन । बीबीसीबाट

प्रतिकृया दिनुहोस्