RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/१० गते
६२२ पटक

‘फैलियो कोरोना भाइरस, पढाइ बिग्रियो त्यही चिन्ता लाइराछ बन्द भए स्कुल र कलेज, दिन बिताउनु सबैलाई मुस्किल किताबकापी कुनामा थुप्रिए, बालबालिका छाडा भई बिग्रिए लकडाउन गर्छ सरकारले कति, बालबच्चाको हुनेछ दुर्गति छोरीछोरी हुन तिम्रै सम्पत्ति, बिग्रेपछि आउनेछ विपत्ति वार्षिक उत्सव भव्यसाथ मनाऔं, शिक्षासँगै खोप पनि लाउन पाऔं ।’

कोरोना महामारी र लकडाउनले गर्दा शिक्षा क्षेत्रमा पारेको असर र भोग्नुपरेको पीडाबारे बालबालिकाले गीतको भावबाट व्यक्त गीतका अंश हुन् यी। झन्डै डेढ वर्ष भयो,बालबालिका र विद्यालयको भेट नभएको। विश्वभर फैलिएको कोरोनाका कारण आफूहरूको पढाइ बिग्रिएको र लाखौं मान्छेले ज्यान गुमाउनुपरेको कारुणिक भाव गीतको बोलबाट व्यक्त गर्दा कार्यक्रममा उपस्थित सबैका आँखा रसाएका थिए। त्रिपुरासुन्दरी नगरपालिका–३ जिउँस्थित महादेव आधारभूत विद्यालयका बालबालिकाले आफ्नो पीडा गीतको भावबाट व्यक्त गरेका हुन्।

उद्योग, कलकारखाना र यातायात खुला हुने र राजनीतिक दलले गर्ने ठुल्ठुला कार्यक्रम बन्द नहुने तर विद्यालय मात्र बन्द हुनु दुर्भाग्य भएको बालकलाकारको भनाइ छ। सहरी जिल्लाका विद्यार्थीले अनलाइन माध्यमबाट पढ्न पाए पनि हिमाली जिल्ला डोल्पामा इन्टरनेटको पहुँच नभएकाले आफूहरू शिक्षाबाट वञ्चित हुनुपरेको भनाइ बालबालिकाको छ।

कोरोना भाइरसको असर र यसबाट बच्न सकिने उपायबारे विभिन्न गीतका माध्यमबाट बालबालिकाले सन्देश दिइरहँदा कार्यक्रममा उपस्थित अभिभावक अतिथि सिमसिमे पानीमा निर्थ्रक्क भिजेर पनि झरीको कुनै परवाह नगरी हेरिरहेका थिए। झन्डै डेढ वर्षसम्म बन्द भएका डोल्पाका विद्यालय गएको साउन १ गतेदेखि सञ्चालनमा आएका छन् ।

गत वर्ष कोरोनाका कारण वार्षिकोत्सव मनाउन नपाएको महादेव आधारभूत विद्यालयले यो वर्ष भने भव्यसाथ विविध कार्यक्रम गरी ३६औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा प्रमुख अतिथि तथा नगर शिक्षा शाखाप्रमुख भीमबहादुर थापाले पठनपाठनलाई नियमित बनाउन वडाका प्रतिनिधि, नगरलगायत सम्पूर्ण सरोकारवालाले छलफल परामर्श चलाइरहेको बताए।

विकासे योजनाहरूमा भइरहेको भिडभाड, राजनीतिक दलहरूले गर्ने कार्यक्रम र उद्योग कलकारखाना सञ्चालन हुँदा त्यहाँ कोरोना नदेखिने विद्यालय सञ्चालन गर्दा मात्र कोरोना देख्ने सरकारले स्वास्थ्य मापदण्ड लागु गरेर खोप, स्वास्थ्य सामग्री र चिकित्सकको व्यवस्थापन गरेर शिक्षक विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न आवश्यक रहेको प्रमुख थापाको भनाइ छ। जिउँ गाउँ आफैंमा नमुना भएकाले यहाँको विद्यालयले प्रदान गर्ने शैक्षिक गुणस्तर पनि नमुनायोग्य रहेकाले विद्यालयको भौतिक संरचना निर्माण र जनशक्तिको आवश्यकताअनुसार सहयोग रहने समेत नगर शिक्षा प्रमुख थापाले बताए।

आदर्श माध्यमिक विद्यालय जुफालका प्रधानाध्यापक तथा नेपाल शिक्षक संगठन कर्णाली प्रदेश अध्यक्ष पूर्णबहादुर डाँगीले नेपालीले विभिन्न समयमा मनाउने विशेष चाडपर्व जस्तै विद्यालयका लागि वार्षिकोत्सव पनि विद्यालय परिवारका लागि महत्वपूर्ण चाड भएको बताए। सरकारले हिमाली जिल्ला डोल्पाका प्रत्येक विद्यालयका शिक्षक विद्यार्थी सबैलाई खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै स्वास्थ्य मापदण्डको पालना गर्न, अर्गानिक खनापानमा जोड दिन र सरसफाइमा ध्यान दिन आवश्यक रहेको डाँगीको भनाइ थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिलन केसीको अध्यक्षतामा भएको कार्यक्रममा डोल्पाको शैक्षिक विकासमा अतुलनीय योगदान पुर्‍याएबापत त्रिपुरासुन्दरी नगर शिक्षाप्रमुख भीमबहादुर थापा र शिक्षक संगठन कर्णाली प्रदेश अध्यक्ष पूर्णबहादुर डाँगीलाई दोसल्ला ओढाई कदरपत्रका साथ सम्मान गरिएको थियो। यसैगरी वार्षिकोत्सव अवसरमा विद्यालयमा अनुशासित लगनशील नियमित र सरसफाई हुने बालबालिकालाई समेत पुरस्कार वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केसीले आफ्नो निजि खर्चबाट ४ सय थान कपि र सिसाकलम राहत स्वरूप बालबालिकालाई वितरण गरेका थिए ।महादेव विद्यालयमै प्रार्थमिक शिक्षा प्राप्त गरेर अहिले ठुलीभेरी नगरपालिकामा स्थायी कर्मचारी बनेकी विद्यालयकी पूर्व छात्रा कमला गुरुङले २६ हजार रूपैयाँ विद्यालयको विकासका लागि चन्दा सहयोग गरेकी छन्।

नागरिक दैनिकबाट……………

प्रतिकृया दिनुहोस्