RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/१६ गते
९१६ पटक

दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी_कै संलग्नता रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा एसएसबीको संलग्नतामा पुनः अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिश गरेको छ ।

समितिले एक महिना लगाएर तयार पारेको प्रतिवेदन हिजो गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ । घटना भएको ठाउँ भारतीय भूमि भएकाले नेपाल तर्फबाट अनुसन्धान गर्न कानुनी जटिलता रहेको समितिको निष्कर्ष छ । समितिले घटनाको अनुसन्धान भारततर्फबाट पनि गराई दोषीलाई कारबाही र पीडित परिवारलाई राहत दिलाउनको लागि कुटनीतिक पहल आवश्यक रहेको ठहर गरेको छ ।

‘समितिले घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानूनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिश गरेको छ’ गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गएको साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता हुनुभएको थियो । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण धामी नदीमा खसेको बताएका छन् । आफ्नो नागरिकमाथि भएको यो मानवताविरोधी अपराधबारे छानबिन र दोषीलाई कारबाही गराउन सरकारले अहिलेसम्म कुटनीतिक पहल गरेको छैन ।

प्रतिकृया दिनुहोस्