RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/१९ गते
७७६ पटक

सुर्खेतका स्थानीय तहहरुको ४६ करोड १० लाख १२ हजार रकम बेरुजु आएको छ । महालेखा परीक्षकको ५८औं प्रतिवेदन २०७८ मा सो रकम बेरुजु देखिएको हो । महालेखाले आर्थिक वर्ष २०७६-०७७ मा सुर्खेतका नौ वटै स्थानीय तहको गरी ११ अर्ब ५१ करोड ९५ लाख ५३ हजारको रकमको लेखापरीक्षण गरेको थियो । जसमध्ये सबैभन्दा बढी पञ्चपुरी नगरपालिकाको बेरुजु देखिएको छ ।

पञ्चपुरी नगरपालिकाको १ अर्ब २६ करोड २८ लाख ८२ हजार रकमको लेखापरीक्षण गरिएकोमा १५ करोड २ लाख २९ हजार बेरुजु आएको छ । जुन जम्मा रकमको ११.९० प्रतिशत हो । सबै भन्दा कम चिङ्गाड गाउँपालिकाको ०.९६ प्रतिशत रकम बेजुरु आएको छ । चिङ्गाडको ६६ करोड ३८ लाख ८८ हजार रकमको लेखापरीक्षण गरिएकोमा ६३ लाख ४२ हजार बेरुजु देखिएको हो ।

बेरुजु धेरै आउने दोस्रोमा चौकुने गाउँपालिका रहेको छ । चौकुनेको ९० करोड ७१ लाख ७० हजारको लेखापरीक्षण गरिएकोमा ६ करोड २७ लाख २४ हजार अर्थात जम्मा रकमको ६.९१ प्रतिशत बेरुजु देखिएको छ । लेकवेशी नगरपालिकाको १ अर्ब १५ करोड ३७ लाख १० हजारको लेखापरीक्षण गरिएकोमा ७ करोड ३ लाख २२ हजार अर्थात ६.३३ प्रतिशत बेरुजु देखिएको छ ।

भेरीगंगा नगरपालिकाको १ अर्ब २३ करोड ५९ लाख २५ हजार रकममध्ये ६ करोड २२ लाख ९५ हजार अर्थात जम्मा रकमको ५.०४ प्रतिशत बेरुजु देखिएको छ ।महालेखाको प्रतिवेदन अनुसार वीरेन्द्रनगर नगरपालिकाको २ अर्ब ८७ करोड ७३ लाख ५५ हजारमध्ये १२ करोड १७ लाख ७८ हजार अर्थात ४.२३ प्रतिशत बेरुजु छ ।

सिम्ता गाउँपालिकाको ९९ करोड ४२ लाख ३९ हजारमध्ये ४ करोड १२ लाख ८१ हजार अर्थात ४.१५ प्रतिशत बेरुजु देखिएको छ । बराहताल गाउँपालिकाको १ अर्ब ८ करोड १३ लाख ४८ हजारमध्ये ४ करोड ४२ लाख ६६ हजार अर्थात ४.०९ प्रतिशत बेरुजु आएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । गुर्भाकोट नगरपालिकाको १ अर्ब ३४ करोड ३ लाख ३६ हजारमध्ये ३ करोड ४ लाख ७५ हजार अर्थात २.५४ प्रतिशत बेरुजु देखिएको छ ।

यस्तै आर्थिक वर्ष २०७५-०७६ को जिम्मेवारी भई आएको गुर्भाकोट नगरपालिकाको ४ करोड २३ लाख ६० हजार बेरुजु रहेको छ । चिङ्गाड गाउँपालिकाको ३६ लाख ६९ हजार, चौकुने गाउँपालिकाको ६ लाख ६० हजार, पञ्चपुरी नगरपालिकाको १ करोड ९६ लाख ९४ हजार रुपैयाँ अघिल्लो वर्षको जिम्मेवारी सरेको बेरुजु छ ।

बराहताल गाउँपालिकाको ५ करोड २३ लाख ३० हजार, वीरेन्द्रनर नगरपालिकाको ३१ करोड ९६ लाख ९४ हजार, भेरीगंगाको ४ करोड ७१ लाख ८१ हजार, लेकवेशीको २ करोड ४५ लाख ९४ हजार र सिम्ता गाउँपालिकाको २५ लाख ५८ हजार अघिल्लो वर्षबाट जिम्मेवारी सरेको बेरुजु छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्