RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/३१ गते
९०५ पटक

काठमाडौँ — नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापाले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारासँग दक्षिणपन्थी धारा पराजित बनेको बताएका छन् । उनले कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै नेकपा एकीकरणको तीन वर्षमा पार्टीभित्र पुँजीवाद हाबी भएका कारण कम्युनिष्ट नेतृत्वको सरकार विस्थापित भएको बताए ।

‘यो तीन वर्षको अवधिमा पार्टीभित्र पुँजीवाद हाबी हुन पुग्यो । त्यसपछि त्यो पुँजीवादी, दक्षिणपन्थी जो शक्ति थियो, त्यसले पुँजीवादी, दक्षिणपन्थी पार्टीहरुसँग सहकार्य गर्दै उनीहरुले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई अपदस्त गर्न सफल भए । अदालतको परमादेशबाट र पार्टीभित्रको पुँजीवादी, दक्षिणपन्थी धाराहरुको अन्तरघातबाट नयाँ सरकार बनेको छ,’ नेकपा एमाले काठमाडौंको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘त्यो दक्षिणपन्थी धारा पार्टीबाट अलग भएको छ । यहाँसम्म आइपुग्दा खेरि पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा पार्टीभित्रको समाजवादी धारा दक्षिणपन्थी धारालाई पराजित गर्न सफल भएको छ ।’

नेता थापाले कम्युनिष्ट पार्टीको नेतृत्वलाई षडयन्त्रपुर्वक ढंगले मुलुकको सत्ताबाट विस्थापित गरिएको बताए । ‘निश्चयपनि यो एउटा षड्यन्त्र हो, यो एउटा राजनीतिक प्रतिगमन हो, प्रतिक्रान्ति हो । यो प्रतिक्रान्तिलाई, पश्चगमनलाई परास्त गर्नेछौँ,’ थापाले अघि भने, ‘नेकपा एमालेको नेतृत्वमा आगामी दिनमा अब वर्ग संघर्षबाट राजकीय सत्तामा नेकपा एमालेलाई पुन: स्थापित गर्ने कुरामा अघि बढ्नेछौँ । र त्यसको निम्ति हामीले कम्युनिष्ट पार्टी र नेतृत्वलाई सुदृढ गर्नुपर्ने हुन्छ ।’

www.ekantipur.com

प्रतिकृया दिनुहोस्