RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/४ गते
४११ पटक

कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउन छुटेका नागरिकका लागि सरकारले आज देखि देशव्यापी रूपमा ११ दिनसम्म अभियान नै सञ्चालन गरेर खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने अभियान सञ्चालन गरिने भएको हो।

यो अभियानमा पहिलो मात्रा लगाएका व्यक्तिलाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा दिइनेछ। स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षदेखि माथिका नागरिकलाई भेरोसेल खोप लगाउन पाउनेछन्।

यस्तै चितवन र काभ्रेमा ३५ वर्षमाथि उमेरकालाई खोप दिइने मन्त्रालयले जनाएको छ। साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइनेछ।

यस्तै मनाङ, मुस्ताङ र रुकुमपूर्वबाहेकका बाँकी जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसका साथै यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। काठमाडौं जिल्लामा भने आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्