RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/६ गते
३५४ पटक

काठमाडौँ – देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा अहिले भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। यस्तै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैबिच पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्