RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/७ गते
६३१ पटक

चालू आवमा सडक डिभिजन जुम्लाले सडक निर्माण तथा स्तरवृद्धिमा करिब ७१ करोड बजेट खर्चिने भएको छ । नयाँ सडक निर्माण, पुराना सडक स्तरवृद्धि, पक्की पुल निर्माण, कच्ची सडक निर्माणलगायतका पूर्वाधार विकासमा ७१ करोड बजेट विनियोजन भएको छ ।

सडक निर्माण तथा स्तरवृद्धिका लागि पाँच वटा शीर्षकमा ७१ करोड विनियोजन भएको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।

उनका अनुसार सुर्खेत महाबुलेक–नाग्म–गमगडी सडकमा ४० करोड, तिला नदी पुल निर्माणमा चार करोड, कर्णाली राजमार्गको लालुखुलालु पक्की पुल निर्माणमा पाँच करोड विनियोजन भएको छ ।

त्यस्तै, सडक तथा ट्राफिक सुरक्षा शीर्षकमा दुई करोड र राजमार्ग स्तरवृद्धि तथा पुनmस्थापनामा २० करोड गरी जम्मा ७१ करोड बजेट विनियोजन भएको प्रमुख भण्डारीले जानकारी दिए । हाल ७० करोड बजेट विनियोजन भए पनि आर्थिक वर्षको अन्त्यसम्म बजेट थप हुनेसमेत सडक डिभिजनले जनाएको छ ।

जुम्ला, कालिकोट र मुगुका सडक पूर्वाधार तथा स्तरवृद्धिमा सरकारले विनियोजन गर्ने बजेट वर्षेनि पर्याप्त नहुने उनको भनाइ छ । सडक डिभिजन प्रमुख भण्डारी भन्छन्, “कर्णालीको पूर्वाधार विकासको मुख्य चुनौती भनेकै भौगोलिक विकटता, बजेट अभाव समयमै निकासा नहुनु र निर्माण व्यवसायीको लापरबाही हो । जुम्लामा यी विभिन्न समस्याका बाबजुद पनि सडक पूर्वाधारको विकासलाई गति दिने लक्ष्य छ । सबैको साथ सहयोग जरुरी छ ।”

चालू आवमा हुने पूर्वाधार विकास
सडक डिभिजन जुम्लाले चालू आवमा सडक पूर्वाधार निर्माण तथा स्तरृद्धिलाई समयमै सम्पन्न गर्र्ने तयारी गरेको छ । सडक डिभिजन प्रमुख भण्डारी भन्छन, “विगतमा असोज कात्तिकमा ठेक्का लाग्थे ।

ठेक्का मूल्यांकन तथा सम्झौता गर्दागर्दै आर्थिक वर्षको अन्त्यमा काम हुन्थ्यो । तर यस वर्ष पूर्वाधार निर्माणलाई गति दिन असोज पहिलो सातासम्म ठेक्का आह्वान मूल्यांकन र सम्झौता गरी काम सुरु गर्ने गरिने छ ।”

त्यस्तै, तिलानदी रारा लिहिमा पक्की पुल, घट्टेखोला पुल, खुलालु पुल निर्माण हुने भएका छन् ।महाबुलेकदेखि गाल्जेसम्मको ३३ किमि कच्ची सडक निर्माण, जुम्ला डोल्पा मनाङ मुस्ताङ सडकअन्तर्गतको बिवादित बोहोरागाउँ खण्डको १० किमि सडक निर्माण, गुठिचौरदेखि मौरीलेकसम्म ४० वटा कल्भट तथा १० किमि सडक ग्राभेल गरिने सडक डिभिजन प्रमुख जुम्लाले जनाएको छ ।

साथै, नाग्म–गमगडी सकड खण्डको १३ देखि २५ किमि सडक स्तरवृद्धि, ताल्चादेखि मुगु गमगडी बजारमा आरसीसी सडक निर्माण, ताल्चा विमानस्थलदेखि रारा तालसम्मको सात किमि सडक चौडा बनाइने छ । त्यस्तै, जुम्लाको रारा लिहिदेखि

नाग्मतर्फको चार किमि सडक खण्ड स्तरवृद्धि र सात किमि सडक चौडा बनाइने छ भने कर्णाली राजमार्गको सबैभन्दा अप्ठयारो खण्ड (पिली, सिम्ले, सुनारखोला, मेयरखोला) लगायत अन्य जोखिमपूर्ण क्षेत्रमा सडक स्तरवृद्धि तथा कालोपत्रे गरिने सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।

जुम्लाका निर्माण व्यवसायी जुम्लाकै विकासप्रति गम्भीर भएको खण्डमा पूर्वाधार विकासले काँचुली फेरेको हेर्न धेरै समय कुर्न नपर्ने उनको भनाइ छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्