RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/११ गते
५६८ पटक

कर्णाली प्रदेशमा उद्योग क्षेत्रको अवस्था निकै कम्जोर देखिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन २०७७/०७८ ले कर्णालीमा उद्योगको अवस्था कम्जोर रहेको देखाएको हो ।

अध्ययन प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा आव २०७६/०७७ मा २,६७० कम्पनी दर्ता भएका छन । यो संख्या देशमा कुल दर्ता भएका कम्पनीहरुको १.१ प्रतिशत हो ।

यस प्रदेशमा सञ्चालनमा आएका साना तथा घरेलु उद्योगहरुको संख्या १७ हजार ६३ रहेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा उद्योग क्षेत्रमा कर्णाली प्रदेशको अंश ३.४२ प्रतिशत रहेको र यस प्रदेशको उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पाादनमा योगदान १०.७ प्रतिशत रहेको छ । कर्णालीबाट अध्ययनका लागि कुनै पनि उद्योगहरु छनौटमा नपरेका तथा साना एवम् घरेलु उद्योगहरुको सञ्चालन एवम् उत्पादन पनि न्यून रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

“औद्योगिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार, आवश्यक दक्ष जनशक्तिको अभाव, उद्योगमैत्री पूर्वाधारको विकास तथा बिपद व्यवस्थापनका चुनौतीहरु जस्ता प्रमुख अवरोधले ठूला उद्योग सञ्चालन नभएको देखिन्छ” अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

निर्माणसम्बन्धी उद्योगमा सबैभन्दा बढी कर्जा प्रवाह
समीक्षा अवधिमा उद्योग क्षेत्रमा प्रवाहित कुल औधोगिक कर्जामध्ये सबैभन्दा बढी ७४.५५ प्रतिशत निर्माण सम्बन्धी उद्योगहरुमा प्रवाहित भएको छ भने सबैभन्दा कम ०.५५ प्रतिशत कर्जा खानी सम्बन्धी उद्योगहरुमा लगानी भएको छ ।

त्यस्तै, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगहरुमा ८.०७ प्रतिशत र गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगहरुमा १०.२१ प्रतिशत कर्जा प्रवाहित भएको छ । साथै, विद्युत्, ग्यास तथा पानी सम्बन्धी उद्योगहरुमा १.४८ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगहरुमा ५.१५ प्रतिशत औद्योगिक कर्जा प्रवाहित भएको प्रतिवेदनले देखाएको छ ।
बैंक तथा वित्तीय संस्थाले यस प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा १७.५० प्रतिशतले वृद्धि भएको छ । जुन ६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४७.४२ प्रतिशतले बढेको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश १५.७० प्रतिशत रहेको छ ।

क्षेत्रगत औद्योगिक कर्जा समीक्षा अवधिमा विद्युत्, ग्याँस तथा पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ६२.२४ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा १.०४ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, खानी सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा ५२.४६ प्रतिशत, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा ३९.२२ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा १६.८१ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ९.६९ प्रतिशतले बढेको छ ।

चुनौतीसँगै उच्च सम्भावना

राष्ट्र बैंकले गरेको उक्त अध्ययनले उद्योगको विकास र विस्तार गरी रोजगारीको अवसर वृद्धि गर्न सकिने सम्भावना औंल्याएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको पूर्वाधार विकास भइनसकेको यस प्रदेशमा कृषि र सेवा क्षेत्रसँग सम्बन्धित उद्योगहरु (साना तथा मझौला समेत) सञ्चालन गर्न सकिने सम्भावना उच्च रहेको अध्ययनले औंल्याएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरुको सीप र दक्षतालाई परिचालन गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम केन्द्र र प्राविधिक प्रशिक्षण प्रतिष्ठानको समन्वयमा दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गर्न सकिने तथा जडीबुटी,

अल्लोलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा उपलब्ध भएकोले त्यससँग सम्बन्धित उद्योग स्थापनाको उच्च सम्भावना रहेको अध्ययमा देखाइएको छ । त्यसका लागि आवश्यक भौतिक पूर्वाधार (बाटो, सञ्चार, बिजुली) निर्माण तथा विस्तार हुनुपर्ने उल्लेख गरिएको छ ।

कृषिसँग सम्बन्धित कच्चा पदार्थमा आधारित खाद्य तथा गैरखाद्य उद्योगहरु, लघु घरेलु उद्योगहरु, वनपैदावार उत्पादन प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्योगहरु स्थापना गर्नु, प्रदेशमा रहेको कुल जनशक्तिको अधिक हिस्सा अदक्ष जनशक्ति रहेकाले दक्ष तथा प्राविधिक जनशक्तिको विकास गर्दै उद्योगहरुको प्रवद्र्धन तथा विकास गर्दै जानुपर्ने चुनौती कर्णाली प्रदेशलाई देखिएको छ ।

यस्तै यातायात, विद्युत्, सञ्चार तथा मोटर बाटोको पहुँच कम भएका उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्दै औद्योगिक क्षेत्रको उत्पादन बढाउँदै जानु उत्पादित वस्तुको लागत तथा गुणस्तर व्यवस्थापन गर्दै आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पनि प्रदेशलाई रहेको चुनौतीका रुपमा अध्ययनले औंल्याएको छ ।

अध्ययनले अन्य चुनौतीहरुमा उद्यमशीलताको विकास गरी भारत तथा अन्य मुलुकमा रोजगारीका लागि जाने युवालाई टिकाइराख्नु, प्रदेशका उद्योगबाट उत्पादन भएका उत्पादित वस्तुहरुको बजारीकरण गर्दै उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने सकारात्मक वातावरण सिर्जना गर्नु र उद्योग क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी आकर्षण गर्नुलाई देखाएको छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्