RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१२ गते
६६१ पटक

जिल्लाबाट यस वर्ष करिब १ हजार भन्दाबढी खसीबोका काठमाडौं पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाबाट खसीबोका खरिद गरेर काठमाडौं पठाउने भएको हो । यसका लागि केही दिन पछि खसीबोका खरिद गर्न सुरु गरिने भएको छ । अहिले खसीबोका पालन गर्ने कृषकसँग समन्वय भइरहेको कम्पनीले जनाएकोे छ ।

कम्पनीले पहिलो चरणमा ६ सय खसीबोका काठमाडौं पठाउने जनाएको छ । त्यसैगरी दोस्रो चरणमा थप खसीबोका पठाउने कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए । “दाङबाट करिब १ हजार खसीबोका काठमाडौं पठाइने छ” निमित प्रमुख चौधरीले भने ।

यसका लागि असोज १७ गतेबाट खसीबोका खरिद गर्न सुरु गरिने भएको छ । “मूल्य निर्धारण गरेर खरिद गर्न सुरु हुने छ” उनले भने ।
असोज १० पछि खसीबोकाको मूल्य निर्धारण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले मूल्य निर्धारण गर्ने बताइएको छ । गत वर्ष खसीबोकाको मूल्य प्रतिकेजी ५ सय ५० रुपैयाँ निर्धारण गरिएको थियो । यस वर्ष मूल्य बढाउन कृषकहरुले माग गरेको निमित प्रमुख चौधरीले बताए ।

जिल्लाको पश्चिम क्षेत्र तथा देउखुरी क्षेत्रबाट खसी खरिद गरिएको कम्पनीले जनाएको छ । देउखुरी कृषक तथा सहकारी संस्थाहरुले पालेका खसीबोका खरिद गरिने चौधरीले बताए । किसानलाई मार नपर्ने गरी खसीबोकाको मूल्य निर्धारण गरिएको चौधरीले बताए ।

दसैं तिहारमा खसी, बोकाको कारोबार धैरै हुने र मनपरी मूल्यमा बिक्री वितरण हुने भएकाले सरकारले हरेक वर्ष खसीबोका खरिद गरेर बिक्री गर्ने गरेको छ । “चार्ड पर्वमा बढी मात्रामा मासु खपत हुने भएकाले मूल्य बढाउन नदिनका लागि बजार मूल्य नियन्त्रण गर्ने सरकारले नै खरिद गरेर बिक्री गर्ने गरेको हो” चौधरीले भने ।

घर घरमा गएर कम्पनीले खसीबोका खरिद गरिदिँदा सहज भएको कृषकहरु बताउँछन् । स्थानीय उत्पादन र उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राखी प्रत्यक्ष रूपमा खसीबोका खरिद गरी बिक्रीका लागि जिल्ला बाहिर पठाइने गरेको निमित प्रमुख चौधरी बताउँछन् ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्