RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१३ गते
१०६७ पटक

मुगु, हुम्ला — मुगुको खत्याड गाउँपालिकास्थित सर्वोदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अनिता कार्की पुरानै च्यातिएका किताब बोकेर विद्यालय जान्छिन् । लामो समयपछि विद्यालय खुलेपछि उत्साही बनेकी कार्की पुरानै पुस्तक पढ्दा भने खिन्न छिन् ।

मुगुको सोरु गाउँपालिकास्थित विजय माध्यमिक विद्यालयका विद्यार्थी । तस्बिर : राजबहादुर शाही/कान्तिपुरसोही विद्यालयको कक्षा ९ मा अध्ययनरत सोविना कार्कीेलाई पनि फाटेकै किताब लिएर विद्यालय जानुपर्ने बाध्यता छ । नयाँ पुस्तक नपाउँदा खत्याडका बालबालिकाले पुरानै पुस्तक पढ्न बाध्य छन् । ‘पुराना च्यातिएका पुस्तक टालटुल गरी पढ्नुपरेको छ,’ अनिताले भनिन्, ‘नयाँ किताब भए पढ्न सजिलो हुन्थ्यो ।’ विद्यालयमा करिब ४ सय विद्यार्थी भर्ना भएका छन् ।

पुस्तक नहुँदा कतिपय विद्यार्थी नियमित छैनन् । विद्यालयले साउन तेस्रो सातादेखि पढाइ सुरु गरेको हो । पुस्तक नहुँदा पठनपाठनमा असर परेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र कार्कीले बताए । ‘पुराना पुस्तक भएकाले विद्यार्थीले पढाइमा मनै लगाउँदैनन्,’ उनले भने, ‘कतिपयले त पुस्तक नभएकै निहुँमा होमवर्क (गृहकार्य) गर्न छाडे ।’

खत्याड गाउँपालिकाका ४० वटा सामुदायिक विद्यालयमा अझै पाठ्यपुस्तक पुगेका छैनन् । सबै सामुदायिक विद्यालयका लागि गम्था माझचौरमा पाठ्यपुस्तक आइसकेको खत्याड गाउँपालिकाका शिक्षा शाखा प्रमुख पदम शाहीले बताए । उनका अनुसार वर्षाले गम्था–कालाकाड–गोठिज्युला सडक अवरुद्ध हुँदा विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन ढिलाइ भएको हो ।

मुगुमकार्मारोङ गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । पुराना च्यातिएका पुस्तक संकलन गरी विद्यार्थीलाई वितरण गरिएको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले बताए । उनका अनुसार कक्षा ९ र १० का विद्यार्थीले अझै नयाँ पुस्तक पाएका छैनन् । सोरुका ६, ८ र ९ का विद्यार्थीले पनि पुस्तक नपाएका उपाध्यायले जनाए ।

खत्याड गाउँपालिकाबाहेक सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथरारा नगरपालिकाका सामुदायिक विद्यालयमा पुस्तक ढुवानीको जिम्मा जयलक्ष्मी पुस्तक पसलले लिएको छ । गमगढीमा पुस्तक पुगे पनि विद्यालयहरू खरिद गर्न नआएका स्टेसनरीका प्रोप्राइटर जयलक्ष्मी भामले दाबी गरे । कोभिड महामारीका कारण जिल्लाका १ सय ४१ वटा सामुदायिक विद्यालयमा भदौ दोस्रो सातादेखि पठनपाठन सुरु गरिएको थियो ।

पढाइ नसकिने चिन्ता

नियमित शैक्षिक सत्रभन्दा झन्डै ३ महिनापछि पढाइ सुरु भएको हुम्लाका शिक्षकहरू पढाइ नसकिने देखेर चिन्तित छन् । विगतका वर्षमा फागुन महिनाबाट पढाइ सुरु हुने भए पनि यो वर्ष असारमा विद्यार्थी भर्ना गरिएको थियो । तर पढाइ भने असोजबाट सुरु भएको हो । दसैंतिहार र जाडोमा पढाइ नहुने भएकाले यो वर्ष आधा कोर्स पनि नसकिने रलिङ माविका शिक्षक हिमालय खत्रीले बताए । ‘फागुनमा विद्यालय खुल्दा त मुस्किलले कोर्स सकिन्थ्यो,’ उनले भने, ‘अब बढीमा ६०/७० दिन विद्यालय खुल्ला कसरी कोर्स सक्ने ?’ उनले कोभिड महामारीका कारण लगातार दुई वर्ष पढाइ अवरुद्ध हुँदा विद्यार्थीको सिकाइस्तर कमजोर बनेको बताए । विद्यार्थीले गत वर्ष पढेका कुरा पनि बिर्सिएपछि पाठ्यक्रम ‘कभर’ गर्न समस्या भएको खत्रीको भनाइ छ ।

लगातार दुई वर्ष पढ्न नपाउँदा शिक्षकले पढाएको बुझ्न समस्या भएको विद्यार्थीहरूको भनाइ छ । महामारीको समयमा अनलाइन कक्षा सञ्चालन नहुँदा आफूहरूले धेरै कुरा बिर्सिएको सिमकोट–३ स्थित रलिङ माविकी कक्षा ९ की छात्रा छिरिङ लामाले बताइन् । उनका अनुसार लामो समय विद्यालय बन्द हुँदा अंग्रेजी, गणित र विज्ञानका पाठहरू बुझ्न समस्या भएको छ ।

‘विद्यालय बन्द हुँदा घरायसी काममै व्यस्त भइयो,’ उनले भनिन्, उनले भनिन्, ‘धेरैपछि स्कुल खुलेकाले शिक्षकले पढाएको बुझ्न पनि गाह्रो हुन्छ ।’ उनले अझै पाठ्यपुस्तक नपाएको गुनासो गरिन् । अहिले जिल्लाका ७ वटै गाउँपालिकामा पठनपाठन भइरहेको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरी पढाइ सुरु गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए । उनका अनुसार सकेसम्म कोर्स सक्ने गरी पठनपाठन गर्न विद्यालयलाई निर्देशन दिइएको छ ।

ekantipur.com

प्रतिकृया दिनुहोस्