RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१५ गते
७६६ पटक

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को शुक्रबारदेखि सुरु हुने प्रथम विधान महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएको छ ।
ललितपुरस्थित गोदावरीमा असोज १५–१७ हुने महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ । महाधिवेशनको उद्घाटन प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले महाधिवेशन स्थलको तयारी, प्रतिनिधि छनोट, व्यवस्थापन, प्रतिवेदन लेखनलगायत सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
उहाँले महाधिवेशनमा मूलतः समाजवाद निर्माणको सङ्क्रमणकालीन अवस्थामा पार्टीको नीति र विधिका विषयमा छलफल तथा निष्कर्ष निकालिने बताउँदै भन्नुभयो, “समाजवादी आन्दोलनको रणनीतिक र कार्यनीतिसम्बन्धी विचार तथा कार्यक्रममा महाधिवेशन केन्द्रित हुनेछ । ”

उहाँले समाजवाद निर्माण गर्न नेतृत्व, सङ्गठन र स्वरूपको विषयमा महाधिवेशन केन्द्रित हुने भएकाले यो महाधिवेशन मुलुक र जनताको समृद्धिसँग समेत गाँसिएको बताउनुभयो । उहाँका अनुसार महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुने छ । असोज १७ गते महाधिवेशनको समूूहगत छलफलबाट प्राप्त सुझाव र विषयहरूलाई स्पष्ट पार्दै सार सङ्क्षेपीकरण गरिने जनाइएको छ ।

आउन जान बस

प्रतिनिधिहरूको आवतजावतका लागि सातदोबाटोबाट महाधिवेशन स्थलसम्म झण्डासहितको गाडीको व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि सम्पर्क मञ्चहरूलाई जिम्मा दिइएको जनाइएको छ । सहभागी प्रतिनिधिलाई बिहानको खाना र खाजा महाधिवेशन स्थलमा नै उपलब्ध गराइए पनि साँझको खाना व्यवस्थापन प्रतिनिधि स्वयंले गर्नुपर्ने छ ।

महाधिवेशनमा प्रतिनिधि र स्वयंसेवक तथा व्यवस्थापक गरी सात हजार जनाको सहभागिता रहने र त्यसका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरिने जनाइएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।

पोस्टरिङ बन्द

महाधिवेशन प्रचारका लागि वाल पेन्टिङ र वाल पोस्टरिङ पूर्ण बन्द गरिएको छ । पोस्टरको सट्टा सञ्चारमाध्यम, सोसल मिडियाको प्रयोगमा जोड दिइएको छ । सडक बत्तीका पोलमा झण्डा झुन्ड्याइएका छन् । त्यस्तै, केही सहरी क्षेत्रका डिजिटल बोर्ड उपयोग
गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्