RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१७ गते
६७८ पटक

चालु आर्थिक वर्ष २०७८/०७९ सालको पहिलो साढे दुई महिनामा सरकारले साढे १ खर्ब मात्र बजेट खर्च गरेको छ ।
गत शुक्रबारसम्ममा सरकारले संशोधित लक्ष्यको ९.७ प्रतिशत अर्थात १ अर्ब ५९ अर्ब रुपैयाँ बजेट खर्च गरेको हो ।

अघिल्लो सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्बको बजेट ल्याएकोमा सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्दै १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।इतिहासमा पहिलो पटक ८ दिनको बजेट रिक्तता बेहोरेको सरकारले त्यसयता अर्थात् असोज ८ गतेदेखि झण्डै ६२ अर्ब रुपैयाँ बराबरको बजेट खर्च गरेको छ ।

हालसम्म सरकारको खर्चमा पुँजीगत बजेटको हिस्सा भने अहिले पनि निकै कम देखिएको छ । सरकारले साढे दुई महिनाको अवधिमा मात्र ४ अर्ब ४४ करोड रुपैयाँ अर्थात् १.०५ प्रतिशत पुँजीगत रकम मात्र खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता नवराज ढुंगानाका अनुसार, आर्थिक वर्ष सुरुवाती अवस्थामा खरिदको प्रारम्भिक प्रकृया मात्र सुरु हुने भएकाले धरै रकम खर्च नहुने बताउँछन् ।

“पहिलो चौमासिकमा सूचना प्रकाशन गर्ने देखि लिएर कागजपत्र तयार गर्ने सम्मका कामहरु हुन्छन्” उनले भने, “कागजपत्र र कार्यालय सम्बन्धी कामहरु मात्र हुने भएकाले खर्चको दायरा कम हुन्छ ।” फिल्डमा निकै कम काम हुने भएकाले खर्च कम हुने उनको तर्क छ ।

तर बहुवर्षिय आयोजना तथा अघिल्लो वर्ष भुक्तानी दिन नसकिएका आयोजनामा भने खर्च हुने ढुङ्गाना बताउँछन् ।
“बहुवर्षिय आयोजनारुमा भुक्तानी दिन बाँकी छ र बजेटमा रकम विनियोजन गरिएको छ भने त्यस्तोमा भने खर्च हुने गर्छ” उनले भने ।

त्यस्तै चालुतर्फ सरकारले १ खर्ब २२ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ भने वित्तीय व्यवस्थापनमा ३१ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेको छ ।
राजस्व संकलनतर्फ सोही अवधिमा सरकारको कोषमा २ खर्ब २ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । संकलन भएको राजस्वमा १ खर्ब ८१ अर्ब कर राजस्व रहेको छ भने २० अर्ब गैरकर राजस्व संकलन भएको छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्