RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१५ गते
८१६ पटक

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्ने उपभोक्ताको घुइँचो लाग्न थालेको छ । उपत्यकामा मुख्य बजारमा तिहारका लागि आवश्यक सामान किनमेल गर्ने ग्राहकको घुइँचो देख्न सकिन्छ ।

विशेषगरी न्युरोड, असन, भोटाहिटीलगायत क्षेत्रमा बढी चहलपहल छ । तिहारका लागि आवश्यक पर्ने भाइमसला, लत्ताकपडा, पाला, बिजुलीका झिलिमिली बत्ती, माटोका पाला, माला, लक्ष्मी पूजाका लागि आवश्यक पर्ने सामानको व्यापार बढ्न थालेको छ ।

तिहारमा बढी खपत हुने भाइमसला (ड्राइ फ्रुट)को मूल्य बढेको छ । मूल्य बढेर आएकाले अधिकांश मसलाको मूल्य बढेको व्यवसायीले बताएका छन् । नरिवल, किसमिस, छोकडा, काजु, बदाम, ओखर, खुर्पानीको मूल्य प्रतिकेजीमा एक सयदेखि दुई सय रुपैयाँ बढेको छ । न्युरोडको मख्खन गल्लीस्थित श्रेष्ठ ड्राइफ्रुट्स सेन्टरका सञ्चालक रमेश श्रेष्ठले भाइमसलाको मूल्य एक सयदेखि दुई सय रुपैयाँ बढेको जानकारी दिए । खरिद मूल्य नै बढेकाले मूल्य बढाउनुपरेको उनको भनाइ छ ।

व्यवसायीका अनुसार गतवर्ष प्रतिकेजी चार सय रुपैयाँ रहेको नरिवलको मूल्य बढेर पाँच सय पुगेको छ । यस्तै प्रतिकेजी दुई सय रहेको छोकडाको मूल्य बढेर तीन सय रुपैयाँ पुगेको छ । गतवर्ष प्रतिकेजी चार सय रुपैयाँ रहेको किसमिसको मूल्य बढेर ६ सय पुगेको छ ।

गतवर्ष प्रतिकेजी एक हजार रुपैयाँ रहेको बदामको मूल्य बढेर एक हजार दुई सय रुपैयाँ पुगेको छ । प्रतिकेजी पाँच सय रुपैयाँ रहेको ओखरको मूल्य बढेर ६ सय रुपैयाँ पुगेको छ । गतवर्ष प्रतिकेजी एक हजार तीन सय रुपैयाँ रहेको ल्वाङको मूल्य बढेर एक हजार चार सय रुपैयाँ पुगेको छ । यस्तै प्रतिकेजी आठ सय रुपैयाँ रहेको खुर्पानीको मूल्य बढेर ९ सय ५० पुगेको छ ।

असनस्थित बज्र किराना स्टोरका सञ्चालक बाबुराम योञ्जनले तिहार सुरु हुन लागेकाले बजारमा ड्राइ फ्रुट्सको व्यापार बढेको जानकारी दिए । यो वर्ष अधिकांश ड्राइ फ्रुट्सको मूल्य बढेको उनले बताए । उनका अनुसार काजु गुणस्तर हेरेर किलोको एक हजार पाँच सयदेखि एक हजार सात सय रुपैयाँ र पेस्ता किलोको एक हजार आठ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको तुलामा यो वर्ष काजु र पेस्ता किलोमा दुई सय रुपैयाँ मूल्य बढेको उनले जानकारी दिए । सुकमेलको मूल्य भने घटेर प्रतिकेजी ३ हजार रुपैयाँ कायम भएको छ । केही समयअघि प्रतिकेजी तार हजार रुपैयाँ रहेको थियो ।

नेपाल खाद्य तथा किराना व्यवसायी संघका अनुसार चीनबाट आउने सामान १-२ कन्टेनर मात्र छोडेको हुनाले पनि छोकडा तथा नरिवलजस्ता केही मसलामा भाउ बढेको छ ।

तिहारमा प्रयोग गरिने भाइमसलामा विशेषगरी काजु, पेस्ता, बदाम, मखना, नरिवल, छोकडा, ल्वाङ, सुकुमेल, अलैंची, दालचिनी, किसमिस, अञ्जिर, ओखर, मिश्री, खुर्पानी, सुपारी गरी १६ थरिका मसला पर्छन् । चकलेट र अन्य मिठाइका सामग्री पनि समावेश गरी आकर्षक प्याकेट बनाएर व्यवसायीले बिक्री गर्ने गरेका छन् ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्