RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१६ गते
५५९ पटक

काठमाडौँ — मुलुकभर सञ्चालनमा रहेको कुल वित्तीय कारोबारका आधाभन्दा बढी वाग्मती प्रदेशमै केन्द्रीत रहेको राष्ट्र बैंककै एक अध्ययन प्रतिवेदनले देखाएको छ । मुलुक संघियतामा गएसँगै वित्तीय कारोबार पनि विकेन्द्रीत गर्ने भनिएपनि व्यवहारमा अझै हुन नसकेको अध्ययनले औंल्याएको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘नेपालको संघिय संरचना अनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचान’ सम्बन्धी अध्ययनले यस्तो देखाएको हो । ‘अध्ययनमा राष्ट्र बैंकबाट अनुमति प्राप्त क’, ख’ र ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन वाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको देखाएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) बाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ ।’

यस्तै, बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत वाग्मती प्रदेशमा रहेको प्रतिवेदनमा उल्लेख छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ ।

अध्ययनले मूलतः प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गरेको छ । यसबाहेक गरिब, विपन्न, बेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवर्द्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरिएको छ ।

वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भएतापनि अध्ययन मूलतः वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको बताइएको छ ।

www.ekantipur.com………………..

प्रतिकृया दिनुहोस्