RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१६ गते
४०९ पटक

पाँच दलीय गठबन्धनको सहमतिअनुसार प्रदेश १ बाट एमालेका मुख्यमन्त्री भीम आचार्यले राजनामा दिएसँगै सबै प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। चारवटा प्रदेशमा सरकार बनाएको एमालेले संघीय संसदबाट बाहिरिएको चार महिनामा प्रदेशका सबै सरकार गुमाएको हो।

बाग्मती प्रदेशको मुख्य मन्त्रीमा राजेन्द्र पाण्डे नियुक्ति भएसँगै तीनवटा प्रदेशबाट एमाले सरकारबाट बाहिरिएको थियो। तर दुई वटा प्रदेशमा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी (एस) पार्टीले नेतृत्व गरेको छ। यस्तै दुईवटा प्रदेशमा कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ भने दुईवटामा माओवादी र प्रदेश २ मा जसपाको सरकार यथावत रहेको छ।

प्रदेश १ को पाँच दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै आचार्यले राजीनामा दिएका थिए। त्यसपछि नेकपा एसका राजेन्द्र राईले बहुमत सदस्यको संख्यासहित मुख्यमन्त्रीको दाबी प्रस्तुत गरिसकेका छन्।

आइतबार विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा विपक्षमा मतदान गर्ने निर्णय गरेपछि सोमबार आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा गरेका थिए।

मुख्य मन्त्री आचार्यले कात्तिक ७ गते नै संसद्बाट विश्वासको मत लिने तयारी गरेका थिए। तर विपक्षी गठबन्धनभित्रको ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाएर संसद् बैठक स्थगित गराएको थियो। देउवाको भ्रमणलाई देखाइए पनि कांग्रेसले आलोपालोमा सरकारको नेतृत्व गर्ने विषयमा पूर्वसहमतिको माग गरेको थियो।

प्रदेशसभामा सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने कार्यसूची थियो। प्रदेशसभाका हाल कायम ९२ जना सांसदमध्ये सत्तारुढ नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद रहेका छन। विपक्षी गठबन्धनसँग ५० सांसद रहेका छन्। सत्ता जोगाउन मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन आवश्यक पर्ने थियो तर उनले सो संख्या जुटाउन नसकेपछि मुख्यमन्त्री आचार्यले राजीनामा गरे।

nagariknews.com

प्रतिकृया दिनुहोस्