RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२२ गते
५०२ पटक

काठमाडौं :  कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो। यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ। छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ। यस दिन एक छाक मात्र खाइन्छ। व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन्।

देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ। छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ। छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ।

यो पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ। नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ। अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ।

परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ। त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ। त्यस्तै द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ।

 

प्रतिकृया दिनुहोस्