RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२३ गते
७६२ पटक

कर्णालीमा सरकारी जहाज नेपाल एयरलाइन्सले नियमित उडान भर्न थालेको छ। जहाज बिग्रेको, बाढीपहिरोमा गएको भन्दै तत्कालिन कर्णाली क्षेत्रमा सरकारी जहाजले उडान भरेको थिएन। भदौ २७ गतेदेखि जुम्लामा उडान नभरेको सरकारी जहाजले कात्तिक १५ गतेपछि नियमित चार उडान गरेको छ। नेपाल एयरलाइन्सले उडान भर्न थालेपछि यात्रु उत्साहित छन्। निजी एयरलाइन्सको चर्को भाडा र मनपरीले आजित यहाँका स्थानीय सरकारी जहाज आउन थालेपछि केही भएपनि राहतको अनुभूति गर्न थालेका छन्।

जुम्लामा यही कात्तिक १५, १८, २१ र २२ गते नियमित उडान भरेको स्टेशन इन्चार्ज देविचन्द्र न्यौपानेले जानकारी दिए। उनका अनुुसार सरकारी जहाज आउन थालेपछि विमानस्थलमा चाप पनि कम भएको छ। उनले भने,‘सरकारी जहाज नआउँदा जहाँतही आक्रोश पोखिएको सुनिन्थ्यो। अहिले नियमित हुन थालेपछि सरकारी जहाजले सेवा दिएको अनुभूति हुन थालेको छ।’

मुगुको ताल्चा विमानस्थलमा झण्डै १९ महिनापछि कात्तिक १४ गते सरकारी जहाजले उडान भरेको थियो। अहिले नियमित हप्तामा दुई उडान भरिरहेको छ। निगमको जहाजले रारा विमानस्थलमा यात्रुसहित उडान सुरु गरेपछि मुगुवासी खुसी छन्। नियमित सेडुअल अनुसार उडान गर्न थालेपछि अहिले सहज बनेको छ।

पहिले सातामा दुईवटा उडान गर्दै आएको निगमको जहाजले विभिन्न कारण देखाउँदै उडान बन्द गरेपछि यात्रु मर्कामा परेका थिए। जोखिमपूर्ण सडकका कारण रारा विमानस्थलमा यात्रुको चाप वृद्धि भइरहेको अवस्थामा निगमको जहाजले उडान सुचारु गर्दा केही सहज हुने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।

सरकारी जहाजले नेपालगञ्जदेखि रारासम्म ५ हजार ३ सय ३५ रुपैयाँ र रारा विमानस्थलदेखि नेपालगञ्जसम्म ५ हजार ३ सय ३५ रुपैयाँ हवाई भाडा कायम गर्दा सर्वसाधारण र बिरामी यात्रुलाई सहज भएको छ। यात्रुको चापलाई मध्यनजर गरी निगमको जहाजलाई सकेसम्म दैनिक उडान गराउन पहल भएको पनि प्रमुख जिल्ला अधिकारी महत बताउँछन्। लामो समयसम्म निगमको जहाज बन्द हुँदा तारा, समीट र सीता एयरले दैनिक ५ देखि ६ उडान गर्दै आएका थिए। रारा घुम्ने पर्यटकको दोहोरो टिकटले गर्दा स्थानीयलाई जहाजको टिकट पाउन मुस्किल भएको थियो। निजी एयरलाइन्सले सेडुअल फ्लाइट तीन महिनादेखि गरेका छैनन्। कर्णालीमा चार्टर्ड उडान भरिरहेका छन्।

निजी जहाजको हवाइ भाडादरमा एकरुपता छैन। यात्रुले सास्ती भोगिरहेका छन्। स्थानीय कालीबहादुर भामले भने,‘ अहिले सरकारी जहाज आउँदा थोरै भएपनि मुगुवासीलाई राहत मिलेको छ। उनले हप्ताको सातवटै दिन एकएक उडान भर्ने वातावरण बनाउनको लागि कर्णालीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई आग्रह गरे।

उनले भने,‘कर्णालीमा हवाइ यातायातमा राज्यको उपस्थिती नियमित छैन। अब नियमित गरेर कर्णालीवासीलाई सरकारी जहाजले सेवा दिनु पर्ने अवस्था आएको छ। यसका लागि सांसद, नेता सबै गम्भीर बनेर लाग्न जरुरी देखिएको छ।’

उनले सरकारी जहाज नेता र सरकारी कार्यालयको रिजर्भ जस्तै हुने भएपनि नियमित उडानले खुसी तुल्याएको प्रतिक्रिया दिए। अहिले चार्टर फ्लाइटको नाममा निजी एयरलाइन्सले यात्रुबाट ६ हजार ५ सयदेखि ८ हजार ५ सयसम्म हवाई भाडा असुल्दै आएका छन्। अहिले कर्णालीको हुम्ला, जुम्ला र ताल्चा एयरपोर्टमा गरेर सरकारी जहाजले हप्तामा ६ उडान भर्दै आइराखेको छ। जुम्लामा हप्तामा तीन, ताल्चामा हप्तामा दुई र हुम्लामा एक उडान भरिरहेको नेपाल एयरलाइन्स नेपालगंज स्टेशन प्रमुख यमराज सिंहले जानकारी दिए।

उनले भने,‘सरकारी जहाजको नियमित उडानले कर्णालीवासीले केही भएपनि सहज अनुभव गरिरहेका छन्। अब यो जहाजको निरन्तरता नै प्रमुख चुनौति छ।’ अहिले पहाडी जिल्लामा सेवा दिने नेपाल एयरलाइन्सका दुई जहाज मात्र छन्। कहिले बिग्रने, कहिले मौसम प्रतिकुलताको कारण देखाउने त कहिले ग्राउण्डेड भएको बाहना बनाएर सरकारी जहाज नियमित हुन सकेको छैन।

कर्णाली प्रदेश र सुदूरपश्चिममा सरकारी जहाजले नियमित सेवा दिनको लागि नेपालगंज बेश बनाउनु पर्ने उनले बताए। उनले भने,‘एक जहाजले पूर्वतिर सेवा दिइरहेको छ। अर्को जहाज नेपालगंजमै राखेर कर्णाली लगायतका सुदूरपश्चिम क्षेत्रमा उडान भर्न सक्ने देखिन्छ। तर यसका लागि कर्णालीको नेतृत्वले पहल थाल्नुपर्छ।’

कर्णालीमा उडान भर्दै आएको सरकारी जहाज सोमबार काठमाडौँ फर्किसकेको छ। अब बिहीबार मात्रै नेपालगंजमा आएर उडान भर्न सुरु गर्छ। सरकारी जहाज नियमित गर्ने बारेमा केन्द्रमा कर्णालीको लबिङ पुगेको देखिँदैन। अहिले निकालेको तालिका अनुसार उडान भने भरिरहेको छ।

हुम्लामा आइतबार, जुम्लामा आइतबार, सोमबार, बिहीबार र ताल्चा विमानस्थलमा आइतबार र सोमबार उडान भरिरहेको छ। नेपालगंज बेश बनाएर जहाज चलाएको भए राम्रै सेवा दिन सकिने बताइएको छ। अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले सुदूरपश्चिमको भएकोले नियमित उडान भरिरहेको छ। तर कर्णालीमा न मन्त्री छन्, न त केन्द्रमा सरकारी जहाज कर्णालीमा चलाउनको लागि पहल गर्ने व्यक्ति नै। स्थानीय चन्द्रबहादुर बुढा भने,‘सरकारी जहाज इच्छा लागे कर्णालीमा आउँछ। इच्छा लागेन भने कर्णालीमा आउँदैन। कर्णाली क्षेत्र नेपाल एयरलाइन्सको इच्छाशक्तिमै भर परेको छ।’

सरकारी जहाजले नियमित उडान गर्न थालेपछि कर्णालीवासीको आक्रोश कम भएको छ। दसैँतिहारको समयमा अत्याधिक मात्रामा पर्यटक आउने जुम्लामा झण्डै दुई महिनासम्म आउन नसकेको सरकारी जहाजले तिहारको अवसरमा नियमित सेडुअलका साथै उडान बढाएको छ।

सरकारी जहाजको नियमित उडान हुनु पर्ने कर्णालीवासीको माग थियो। सरकारी जहाज नआउने र निजी विमानकै भरमा परेपछि यात्रु सकसमा थिए।  अहिले नियमित हप्ताको तीन उडान भर्न थालेपछि सहज हुने आशा पलाएको जुम्लावासीले बताएका छन्।

दुई साताअघि राष्ट्रिय मानव अधिकार आयोगको सहजीकरणमा स्थानीय प्रशासन, नागरिक उड्डयन प्राधिकारण, जहाजका प्रतिनिधि, राजनैतिकदल र संचारकर्मीसहितको सर्वपक्षीय बैठकले सरकार र सरोकारवाला निकायहरुलाई उडान बढाउने र कार्यालय खोल्ने, ईटिकटसहितको व्यवस्था गर्ने र सरकारी जहाज नियमिता गर्नु पर्ने मागसहित निर्णय गरिएको थियो। प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले नेपाल एयरलाइन्सले नियमित उडान गरेपछि केही सहज हुने बताउँछिन्। सरकारी जहाज अहिले नियमित आएपनि भरपर्दो जहाज नभएको स्थानीय बताउँछन्।

www.nagariknews.com

प्रतिकृया दिनुहोस्