RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२४ गते
८८४ पटक

मुगुको रारा विमानस्थलमा उडान गर्ने निजी एयरलाइन्सले कार्गोका नाममा दोब्बर भाडा असुल्न थालेका छन् । नेपालगन्जदेखि मुगु आउन यात्रु नभएको भन्दै एयरलाइन्सले एकतर्फी भाडा नै १२ हजार रुपैयाँ लिने गरेका हुन् ।

खाली जहाज बोलाउनुपरेको भन्दै दुवैतर्फको भाडा जोडेर १२ हजार रुपैयाँ लिन थालिएको एयरलाइन्सका कर्मचारीको दाबी छ । मुगुदेखि नेपालगन्ज जान प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ भाडा तोकिए पनि नेपालगन्जबाट मुगु आउने यात्रु नपाइने भन्दै बढी भाडा लिने गरेको रोयल कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र स्वाँरले बताए ।

‘जहाजले जथाभावी भाडा उठाइरहेका छन्,’ उनले भने, ‘यात्रु चर्को भाडा तिरेर जहाज चढ्न बाध्य भए पनि विमानस्थल प्रशासन मौन छ ।’

टिकट पाउन मुस्किल भएपछि महँगो भाडा तिरेर पनि यात्रु जहाज चढ्न पाउँदैनन् । हवाई टिकट नपाएर ४/५ दिनसम्म भौंतारिनुपरेको सोरु गाउँपालिका–२ का राजेन्द्र शाहीको भनाइ छ । ‘सडक जीर्ण हुँदा गाडीबाट जान जोखिमयुक्त छ,’ उनले भने, ‘जहाजमा महँगो भाडा तिर्छु भन्दा पनि टिकट पाउन मुस्किल भयो ।’

नियम र पद्धतिलाई बेवास्ता गरी निजी एयरलाइन्सले पहुँचवालालाई मात्र टिकट वितरण गर्ने गरेको उनको गुनासो छ । एयरलाइन्सले कार्यालयबाहिरबाटै टिकट वितरण गरिरहेको उनको दाबी छ ।

नेपालगन्जदेखि मुगु आउने यात्रु नहुँदा खाली जहाज बोलाउनुपर्ने भएकाले प्रतिव्यक्ति १२ हजार रुपैयाँ भाडा लिने गरिएको तारा एयरलाइन्सका स्टेसन इन्चार्ज लक्ष्मी शाहीले बताए । रारा घुम्न आउने पर्यटकले दोहोरो हवाई टिकट लिएर आउँदा स्थानीयलाई टिकट पाउन मुस्किल भएको उनको भनाइ छ । ‘यताबाट नेपालगन्ज जाने यात्रुको भीड छ,’ उनले भने, ‘नेपालगन्जबाट मुगु आउने यात्रु नै पाइँदैनन् ।’

यता प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने महँगो हवाई भाडा नउठाउन निजी एयरलाइन्सलाई पत्राचार गरिए पनि बेवास्ता भएको प्रतिक्रिया दिए । ‘एयरलाइन्स कम्पनीलाई पर्यटक र स्थानीयलाई बराबर टिकट उपलब्ध गराउन पनि भनेका छौं,’ उनले भने, ‘अनुगमन गर्दा बढी भाडा लिएको पाइए कारबाही गर्छौं ।’

कान्तिपुर दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्