RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२६ गते
५३२ पटक

नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तीमा १ सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ ।बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो । त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा चल्ती खाताको व्यवस्था गरेको छ ।

सोही खातामा सबै पार्टी सदस्यहरूले महाधिवेशनको खर्चका लागि मोबाईलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ पैसा जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो । एमालेले यस अघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ । प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग हाल करिव ७ लाख ३० हजार पार्टी सदस्य छन् ।

उनीहरूबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठछ । त्यसले पार्टीको महाधिवेशनको खर्च पु-याउन सकिन्छ । प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘यो महाधिवेशनलाई सम्पन्न गर्न एउटा ठूलो आर्थिक खर्च पनि छ । ठूलो पार्टी छ । ठूलो जनसहभागिता जुटाउनु पर्नेछ । देशभरबाट प्रतिनिधिहरू आउनेछन ।

विदेशी मित्रहरू पनि यसमा सहभागी हुनेछन । र ठूलै खर्च यो महाधिवेशनमा हुन्छ । त्यसकारणले आजको व्यवस्थापन कमिटीको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा पनि रुपैयाँ १०० महाधिवेशनको निम्ति खोलिएको खातामा अनलाईन सिष्टमबाट जम्मा गर्ने, त्यो हामीले अपिल गरेका छौं । प्रत्येक पार्टी सदस्यबाट आजको दिनमा हाम्रो पार्टी सदस्यहरू ७ लाख ३० हजार करिव हुनुहुन्छ ।

अहिले त्यसको अन्तिम रेकर्ड आउन बाँकि छ । केही हजार थपिन पनि सक्नु हुन्छहोला । अथवा केही घटन पनि सक्छ । अन्तिम अभिलेख आउन बाँकि छ । ७ लाख ३० हजार पार्टी सदस्यबाट हामी ७ करोड ३० लाख रुपैयाँ एउटा अनलाइन सिष्टमबाट पार्टी सदस्यबाट कम्तिमा एक सय रुपैयाँ डोनेट गर्नु हुन्छ । एटलिष्ट एउटा पार्टी सदस्यले १ सय रुपैयाँचाहिँ उहाँले आफ्नो मोबाईलमार्फत् अथवा नजिकको बैंकमा गएर पनि हामीले दिएको बैंक खातामा जम्मा गर्न सक्नुहुन्छ । त्यसको निम्ति राष्ट्रिय वाणिज्य बैंक, टेकुमा हामीले चल्ती खाता खोलेका छौं । उक्त खाता नम्बरमा प्रत्येक पार्टी सदस्यले १०० रुपैयाँ अनिवार्य जम्मा गर्नुहुन्छ । यसबाट हामी महाधिवेशनको खर्चहरू व्यवस्थापन गर्नेछौं ।’

बैठकले पार्टीको महाधिवेशनसम्बन्धि सम्पूर्ण कार्ययोजना पनि परिमार्जनसहित पारित गरेको छ ।जस अनुसार मंसीर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन अपराह्न १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा रहेको विशाल मैदानमा अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । यो उद्घाटनको अवसरमा देशभरका पार्टीको शुभचिन्तक र समर्थकहरू सहभागी हुने एमालेले जनाएको छ ।

प्रचार विभाग प्रमुख भट्टराईले उद्घाटन समारोहमा कम्तीमा ५ लाख जनसहभागिता हुने र त्यसका लागि चितवन र त्यस आसपासका जिल्लाहरूबाट जनपरिचालन गर्ने निर्णय पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीले गरेको बताए । बैठकले कार्तिक ३० गते भित्र महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरूको सम्पूर्ण विवरण पार्टीको केन्द्रिय कार्यालयमा बुझाउन पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको छ । एमालेले यही कार्तिक २७ गते देशभर एक साथ प्रतिनिधि छनौट गर्ने कार्यतालिका यस अघि नै सार्वजनिक गरिसकेको छ । महाधिवेशनमा देशभरका १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् ।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘यो मंसिर १० गते १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन अपरान्ह १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदीको किनारमा रहेको मैदानमा आयोजना हुनेछ । पार्टी अध्यक्ष कमरेडबाट राष्ट्रिय महाधिवेशनको उद्घाटन हुनेछ ।

यो उद्घाटनका अवसरमा देशभरीबाट हाम्रा पार्टीका समर्थक, शुभचिन्तकहरू सहभागी हुनेछन । र आजको बैठकले मूलतः चितवन र चितवन आसपासका जिल्लाहरूबाट ब्यापक जनपरिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले विश्वका विभिन्न देशमा रहेका हाम्रा मित्र संगठनहरू, भाइचारा संगठनहरूलाई यो राष्ट्रिय महाधिवेशनमा निमन्त्रणा पठाउने निर्णय गरेको छ । पठाइ पनि सकिएको छ । र कतिपय पार्टीहरूबाट महाधिवेशनमा उपस्थित हुने सूचना पनि हामीलाई दिनुभएको छ ।

यसको पनि हामीले क्रमशः फ्लो गर्दै जानेछौं । साथै दक्षिण एशीयाली सत्तारुढ दलहरू, विपक्ष दलहरूलाई पनि हामीले यो महाधिवेशनमा आमन्त्रण गर्नेछौं । यही कात्तिक २७ गते देशका सम्पूर्ण प्रतिनिधिहरूको छनौट गर्ने कार्यतालिका छ । त्यसलाई सम्पन्न गर्नका लागि आजको बैठकले जोड दिएको छ र कात्तिक २७ गते देशभरीबाट १ हजार ९ सय ९९ जना प्रतिनिधिहरू छनौट हुन्छ । र ३० गते भित्र प्रतिनिधिहरूको सम्पूर्ण विवरण पार्टी केन्द्रिय कार्यालयमा उपलब्ध गराउन निर्देशन गरिएको छ ।’

महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा हुनेछ । प्रतिनिधिहरूका लागि त्यही आसपासका लज, गेष्ट हाउसहरूमा आवास र महाधिवेशन स्थलमै सामूहिक खानाको पनि व्यवस्था गर्ने औपचारिक निर्णय गरिएको पनि प्रचार विभाग प्रमुख भट्टराईले बताए । एमालेले महाधिवेशनको नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि इलेक्ट्रोनिक भोटिङ सिष्टम प्रयोग गर्नेछ ।

बैठकले महाधिवेशनमा पोष्टर र भित्ते लेखन नगर्ने निर्णय पनि गरेको छ । इलेक्ट्रोनिक सञ्चार माध्यामहरूको प्रयोग गरेर महाधिवेशनको प्रचार प्रसार गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनु भयो । उनले भने, ‘महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा हुनेछ ।

प्रतिनिधिहरूलाई त्यही सौराहा र त्यस आसपासको लज, गेष्टहाउसहरूमा पनि आवासको व्यवस्था गरिनेछ । सामुहिक खानाको व्यवस्था पनि महाधिवेशन स्थलमै गरिनेछ ।

यो महाधिवेशनमा हामी ईलेक्ट्रोनिक भोटिङ सिष्टमबाट निर्वाचन प्रक्रिया अवलम्बन गर्नेछौं । हामीले १० गतेको उदघटन सकिएपछि ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्नेछौं । १२ गते मतपरिणाम घोषणा गरी पार्टीको महाधिवेशन सम्पन्न गर्ने तयारीका साथ अघि बढिएको छ ।’

बैठकले महाधिवेशनका लागि दक्षिणी एशीयाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरूलाई अनिवार्य रूपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्