RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२८ गते
६२५ पटक

काठमाडौँ — नेकपा एमालेको दसौं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया सुरु भएको छ । महाधिवेशन कार्यतालिकाअनुसार एमालेले शनिबार एकसाथ देशभर प्रतिनिधि चयनको मिति तय गरेको थियो । धेरै ठाउँमा सर्वसम्मत प्रतिनिधि चुनिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

विवादका कारण प्रतिनिधि चयन हुन नसकेका जिल्लामा निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ । ‘शनिबार देशैभरि प्रतिनिधि चयन प्रक्रिया प्रारम्भ भयो, मूलतः विभाग, जनसंगठन र विशेष कमिटीमा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । करिब ३० जिल्लाले सहमति गरेर प्रतिनिधिको नाम केन्द्रमा पठाएका छन्,’ तामाङले भने, ‘भूगोलका अरू जिल्ला कमिटीमा सर्वसम्मतिको प्रयास जारी छ । सहमति हुन नसक्ने करिब १० देखि १५ जिल्लामा आइतबार निर्वाचन प्रक्रिया अगाडि बढ्दै छ ।’

एमालेले ८ लाखभन्दा बढी पार्टी सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गर्दै छ । महाधिवेशनमा १ हजार ९ सय ९९ भन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । विधानअनुसार पदेन, निर्वाचित र मनोनीत प्रतिनिधि छानिन्छन् । एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार शनिबार साँझसम्म तनहुँ, भोजपुर, दाङ, सिन्धुली, गुल्मी, गोरखा, खोटाङ, इलाम, पाल्पा, सिन्धुपाल्चोक, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वी रुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्यूठान, संखुवासभा, हुम्ला, कास्की, कपिलवस्तु, अर्घाखाँची, बागलुङ, म्याग्दी, मकवानपुर, दोलखा, सल्यान, रोल्पालगायत जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् ।

यसबाहेक कर्णाली सम्पर्क कमिटी, लुम्बिनी सम्पर्क कमिटी, गण्डकी सम्पर्क कमिटी, केन्द्रीय सल्लाहकार परिषद्, गण्डकी प्रदेश कमिटी, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, उद्योगी व्यवसायी विशेष जिल्ला, नेपाल बुद्धिजीवी परिषद्, पेसागत विशेष जिल्ला कमिटी, मजदुर विशेष जिल्ला कमिटी, प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन, अनेरास्ववियु, प्रेस चौतारी नेपालबाट सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । सर्वसम्मतिले चुनिएका अधिकांश प्रतिनिधि संस्थापननिकट छन् ।

पार्टी एकताको सन्देश दिन एमाले संस्थापन पक्षले प्रतिनिधि छनोटमा सकेसम्म सर्वसम्मति गर्न विभागीय इन्चार्ज, सम्बन्धित प्रदेश र जिल्ला नेतृत्वलाई निर्देशन नै दिएको थियो । वडा र पालिका अधिवेशनमा पनि एमाले नेतृत्वले सर्वसम्मतको कोसिस गरेको थियो । तर, दसबुँदे सहमति पक्षधर नेताहरूले यसलाई पार्टीभित्र लोकतान्त्रिक अभ्यास खुम्चाइएको रूपमा अर्थ्याएका छन् । ‘अघोषित हस्तक्षेप गरेर धेरै ठाउँमा सर्वसम्मत गरिएको छ,’ एक सदस्यले भने, ‘समग्रमा वडा र पालिकामा जस्तै महाधिवेशन प्रतिनिधि चयनमा पनि लोकतान्त्रिक अभ्यासलाई खुम्च्याइयो ।’

www.ekantipur.com

प्रतिकृया दिनुहोस्