RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२८ गते
३६७ पटक

चितवन । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् ।

पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो ।

ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको हो । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थजस्ताको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ ।

भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारी ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको बताउँछन् । खानपानमा परिवर्तन, माछा, मासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको उनको भनाइ छ । उनी भन्छन्, ‘गाउँमा पनि क्रय शक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ ।’

जीवनशैलीमा परिवर्तन आएको जनाउँदै उनले सहरमा नियमित परीक्षण हुने भए पनि ग्रामीण क्षेत्रका बिरामीले परीक्षण नगर्दा अन्तिम अवस्थामा अस्पताल आउने गरेका बताए । कलेज अफ मेडिकल साइन्सेस भरतपुरका फिजिसियन डा प्रकाश अर्याल सहरमा धेरै मानिस भएर धेरै बिरामी आएको भए पनि जनसङ्ख्याका अनुपातमा ग्रामीण क्षेत्रमा पनि उत्तिकै समस्या देखिएको बताउँछन् । उनी भन्छन्, ‘जो गाउँमा बस्नुहुन्छ, उहाँहरूले पनि खानपानमा ध्यान दिनुपर्‍यो, नियमित परीक्षण गर्नुपर्‍यो ।’

घरमा अन्य सदस्यलाई मधुमेह नभएमा ३५ वर्षपछि नियमित परीक्षण गर्नुपर्ने जनाउँदै उनले घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने उनको सुझाव छ । मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उनको भनाइ छ । यस्ता वर्गले हरेक वर्ष परीक्षण गर्नुपर्छ । अन्यको हकमा तीनदेखि पाँच वर्षमा परीक्षण गर्न सकिने डा। अर्यालको सुझाव छ । डा। अर्यालले भने,‘सहरकाले मात्रै होइन, ग्रामीण क्षेत्रमा बस्नेले पनि नियमित परीक्षण गर्नुपर्‍यो ।’

चितवन मेडिकल कलेजका इण्डोक्राइनोलोजिष्ट डा। सौरव खतिवडाले शरीरमा चिनीको मात्रा पचाउन सक्ने क्षमतामा ह्रास आयो भने रगतमा चिनीको मात्रा बढ्ने बताउँछन् । उनले भने, ‘यो अवस्थालाई मधुमेह भनिन्छ । खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलिग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डायबिटिज) भन्दछौँ ।’ मधुमेह भएपछि खानपान, व्यायाम र औषधि यी तीन चिजको सहायताले सुगर (चिनी)लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहेको उनले औँल्याए ।

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने जनाउँदै उनले भने, ‘मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत नगर्ने गरेको छन् । यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैनन्, यसले मधुमेह बनाउँछ ।’

दैनिक आधा घण्टा पसिना आउने गरी व्यायाम गर्न सुझाव दिँदै उनले भने, ‘वंशाणुगत रूपमा भए पनि खानपान र व्यायाम गर्न सकियो भने मधुमेह हुने समय पाँच÷दश वर्ष पछाडि धकेलिन्छ । शरीरलाई आवश्यक पर्ने मात्रा मिलाएर खान पर्छ । हाम्रो खानामा भात, ढिलो बढी खान्छौँ । यसबाट थोरै खाँदा पनि धेरै ग्लुकोज बन्ने भएकाले भात र ढिलोको मात्रा कति खाने भन्ने जानकारी लिन जरुरी छ ।’ आफ्नो तौल, उमेर र उचाइअनुसार डाइटीसियनसँग परामर्श गरेर खाना खाने बानी बसाल्नु राम्रो हुने उनको सुझाव छ । सामान्यतया हामीले खाने चामल बिहान डेढ मुठी र बेलुका एक मुठी खाँदा पर्याप्त हुने जनाइएको छ । उनले एकै पटक धेरै नखान र पटक–पटक थोरै–थोरै गरेर खान सुझाव दिन्छन् ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष फिजिसियन डा। भोजराज अधिकारी मधुमेह आफैँमा रोग नभएको बताउँछन् । उनले भने,‘मधुमेह रोग होइन, रोग हुनसक्ने कुराहरूको सङ्ग्रह मात्रै हो ।’ मधुमेहका कारण आँखा, मुटु, मिर्गौला, खुट्टा, रगतका नलीमा हान्यो भने बल्ल त्यो रोग हुने उनको भनाइ छ । उनले, भने,‘मधुमेहलाई राम्रोसँग नियन्त्रण गर्‍यौँ भने स्वस्थ जीवन जिउन सकिन्छ ।’

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएको र करिब ४० वर्षपछि यो सङ्ख्या ४५ करोडभन्दा बढी पुगेको छ ।

मधुमेह उपचारमा विगत लामो समयदेखि सक्रिय डा। अधिकारीले अर्को ४५ करोड मधुमेह हुनसक्ने, पत्ता नलागेका र अर्को वर्ष वा जीवनशैली नबदलेमा हुनसक्ने मानिसको सङ्ख्या रहेको बताउँछन् । विश्वका सात अर्ब जनसङ्ख्यामा करिब ९० करोड मधुमेह भएका वा हुनसक्ने मानिस रहेको जनाइएको छ ।

नेपालमा पनि करिब–करिब जनसङ्ख्याको ८।४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको डा। अधिकारीको भनाइ छ । नेपालमा यसको परीक्षणको पहुँच सबैतिर पुगिसकेको जनाउँदै उनले भने, ‘अर्को ८।४ प्रतिशत परीक्षण नभएको छ भन्ने अनुमान गरिएको छ ।’ नेपालका सहरी क्षेत्रमा गरिएका अध्ययनले करिब २० प्रतिशत मधुमेहबाट प्रभावित भएको देखाएको जनाउँदै उनले गाउँमा तीन प्रतिशतलाई मधुमेह भएको बताउँछन् ।

स्वस्थ जीवनशैली अपनाउन र मधुमेह छु कि छैन भनेर वर्षमा एक पटक मधुमेह परीक्षण गर्न उनले सुझाव दिए । उनले भने, ‘वर्षमा एक पटक परीक्षण गरियो भने करिब–करिब फेरि मधुमेह लाग्ने सम्भावना त्यो वर्षलाई १२ प्रतिशतले टर्छ ।’

रासस

प्रतिकृया दिनुहोस्