RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२८ गते
७४१ पटक

मुस्ताङमा हिउँ पहिरो जाँदा एक घर भत्केको छ भने ९ जना घाइते छन्।हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते छन्। रत्नदेवी तुलाचनको घर भत्किएको छ।

सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान ११ बजेर ४० मिनेटमा हिउँ पहिरो गएको हो।

हावाहुरी र हिउँ पहिरो आएको देखेपछि जनआदर्श अमरसिंह माविका शिक्षक तथा विद्यार्थी भाग्दा लडेर घाइते भएका हुन्।

‘एक शिक्षक र ८ विद्यार्थी सामान्य घाइते छन्। उनीहरूलाई उपचारका लागि मुस्ताङ लैजाने तयारी छ,’ प्रहरी नायब उपरीक्षक रामकुमार दानीले सेतोपाटीसँग भने।

हिउँ पहिरोमा चरनका लागि लगिएका चौंरीलगायत जीवजन्तु परेको अनुमान गरिएको छ। १५० भन्दा बढी चौंरी हराइरहेका छन्। भीम थकाली र सचेन्द्र गौचनका चौंरी हराएका हुन्। दुइटा चौरी गोठमा हिउँ पहिरोले क्षति पुर्‍याएको छ।

घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेतोपाटीलाई बताए।

प्रतिकृया दिनुहोस्