RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१ गते
७५४ पटक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि हिजो मंगलबार बस्ने बैठक आजका लागि सरेको थियो।

आज साढे ११ बजे बस्ने बैठकमा विश्वासको मतसम्बधी प्रस्ताव टेबुल गर्ने र आजै मत विभाजन गर्ने  सत्ता पक्षको तयारी छ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो।

पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।

भागवण्डा मिलाउन मन्त्रालय फुटाउने तयारीमा सत्ता गठबन्धन लागेको छ। ‘विश्वासको मत लिएर मात्रै सरकार विस्तार गर्ने योजना छ,’ मुख्यमन्त्री राजेन्द्र राईले एकीकृत समाजवादीको बैठकमा शनिबार भनेका थिए ‘मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए। त्यसैले मन्त्रालय फुटाउने तयारी छ।’

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ। गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्।

मुख्य विपक्षी  एमालेसँग  ४१ सांसद छन्। एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ। त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ।

सोमबार पाँच दलले आफ्ना सबै सांसद भेला गरेर मंगलबारको प्रदेशसभा बैठकमा हुने विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिइसकेका छन्।

यसैबीच प्रदेश १ को सत्तारूढ पाँच दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ बनाएको छ।

कांग्रेसकै सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल पनि  बनेको सत्ता गठबन्धनले जनाएको छ।न्यूनतम साझा कार्यक्रम बनाउने कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य छन्।

प्रतिकृया दिनुहोस्