RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१ गते
५७६ पटक

काठमाडौँ — आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मानित गरेको छ ।

गत वर्ष संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर जबराले सर्वाधिक कर तिरेको विभागले जनाएको छ । लगातार ६ वर्षसम्म सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित हुँदै आएका राणा गतवर्ष भने दोस्रो स्थानमा थिए । यसवर्ष फेरि पहिलो नम्बरमा देखिएका छन् ।

विभागले कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सीलाई सम्मानित गरेको छ । त्यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड र बिमा कम्पनीतर्फ नेपाल पुनर्बिमा कम्पनी सम्मानित भएका छन् । छिमेक लघुवित्त वित्तीय संस्थालाई सहकारी तथा लघुवित्ततर्फ सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ । जलविद्युत्‌मा हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि रहेको जनाइएको छ । त्यस्तै, व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एसियन पेन्ट्सलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) सूर्य नेपालले तिरेको छ । त्यस्तै, घोराही सिमेन्टलाई पनि धेरै भ्याट तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ । मध्यमस्तरीय करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउनेमा भने कर्जा सूचना केन्द्र रहेको छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्