RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/२ गते
८०५ पटक

काठमाडाैँ । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले काठमाडौँ-चितवन, बुटवल-चितवन र वीरगञ्ज-चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको बताए । बागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्‍यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो ।

पूर्व-पश्चिम, उत्तर-दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिका, मुख्य बजारमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ । एमालेले महाधिवेशनमा कुनै पनि भित्तेलेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गरिने संयोजक भट्टराईले बताए।

पत्रकार सम्मेलनमा एमालेले महाधिवेशनमा कम्तीमा ३० भिडियो तथा अडियो क्लिप र वृत्तचित्र बनाएर प्रचार गर्ने तयारी गरेको छ । एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारका लागि सञ्चारमाध्यमका साथै फेसबुक, टिकटक र ट्वीटरलगायतका सामाजिक सञ्चालको प्रयोग गर्ने उनको भनाइ छ । उनले सबै कम्युनिष्ट एमालेमा समायोजन गर्दै अघि बढ्न महाधिवेशनले सहयोग पुग्ने बताए ।

प्रचारप्रसार सहयोग समिति गठन
यसैबीच महाधिवेशनको प्रचारप्रसारलाई थप व्यवस्थित गर्न १० औँ महाधिवेशन प्रचारप्रसार सहयोग समिति गठन गरिएको छ । प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय चितवन समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा एमाले नेता केशव रेग्मी र सचिवमा पत्रकार तिलकराम रिमाल रहेका छन् ।

प्रतिकृया दिनुहोस्