RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/४ गते
४८७ पटक

काठमाडौँ — नेकपा माओवादी केन्द्रले भोलि शनिबार देशभर वडा सम्मेलन सुरु गर्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले यसबारे जानकारी दिएका हुन् ।

प्रवक्ता महराले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विज्ञप्ति अनुसार पार्टीले वडा सम्मेलनको सबै तयारी पूरा गरेको छ । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन गर्न लागेको बताइएको छ ।

समाजवादको यात्रा पूरा गर्न जनस्तरदेखि नै परिवर्तन आवश्यक रहेको जारी विज्ञप्तिमा बताइएको छ । साथै सकेसम्म सर्वसम्मत रुपमा समिति चयन गर्न पनि विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

‘पार्टीको मुख्य आधार भनेको तल्लो तहमा रहेर काम गरिरहनुभएका आम नेता, कार्यकर्ता र जनसमुदाय हुनुहुन्छ । समाजवादको यात्रा तय गर्न जनताको तहदेखि नै परिवर्तन हुन जरुरी छ,’ शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै वडा सम्मेलनको क्रममा विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर समाजवादी क्रान्तिको यात्रामा लाग्न आम समुदायलाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

‍आगामी मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा माओवादी केन्द्रले नेतृत्व चयनका लागि सम्मेलन गर्ने जनाएको छ । यस्तै पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस्