RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/५ गते
७२४ पटक

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ ।

कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले पनि महाधिवेशनको मैदानमा सभापतिका लागि अघि बढ्ने घोषणा गरिसकेका छन् ।

यसैगरी, संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि हालका महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ मैदानमा उत्रिने तयारीमा छन् ।

यस्तै, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला पनि टिमसहित मैदानमा उत्रिने भन्दै तयारी गरिरहेका छन् ।

सभापति देउवालाई उपसभापति निधि र नेता श्रेष्ठले चुनौती दिइरहेका छन् । तर, देउवा निधि र श्रेष्ठ दुवैलाई मनाउन प्रयासरत छन् । तर, पनि निधि ब्याक हुन तयार देखिएका छैनन् । श्रेष्ठले भने आफूलाई धोका नदिनेमा देउवा ढुक्क छन् ।

संस्थापन इतर समूहका आकांक्षीहरू भने एकले अर्कालाई आरोप लगाउनमा नै व्यस्त छन् । इतर समूहबाट पौडेलले आफूले सबैलाई समेटेर अघि बढ्ने भन्दै सघाउन आफ्नै समूहका नेताहरूलाई निरन्तर आग्रह गरिरहेका छन् ।

उनी गत बुधबार पूर्वमहामन्त्री सिंहलाई आफूलाई सघाउन आग्रह गर्दै उनको ठमेलस्थित निवास पुगेका थिए । यसैगरी, नेता शेखरसमेत शुक्रबार सिंहलाई फकाउन उनको निवास गएका थिए भने शनिबार महामन्त्री शशांक सिंहलाई फकाउन पुगेका थिए ।

संस्थापन इतर समूहका नेताबीच शनिबार साँझसमेत समूहबाट साझा उम्मेदवार तय गर्ने विषयमा महामन्त्री कोइरालाको निवास महाराजगन्जमा छलफल भएको थियो । सो छलफलमा सबै आकांक्षीले आआफ्नै अडान दोहो¥याएपछि सहमति हुन सकेन ।

करिब १ घण्टा भएको छलफलमा आकांक्षी सबैले आफ्नै नाममा सहमति गर्न आग्रह गरेका कारण सहमति जुट्न नसकेपछि पुनः छलफल गर्ने भन्दै शनिबारको छलफल अन्त्य गरिएको एक नेताले जानकारी दिए ।

उपसभापतिमा आचार्य, केसी र भण्डारी खुले, अन्य खुल्दै
कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा नेताहरू महेश आचार्य, बलबहादुर केसी र डा. चन्द्र भण्डारीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । विधानअनुसार दुई जना उपसभापति निर्वाचित हुन्छन् ।

आचार्यले कांग्रेसलाई नयाँ गति दिन र वैचारिक रूपमा पार्टीलाई अघि बढाउन उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

उनले उपसभापतिको नेतृत्वमा रहने कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत कांग्रेसलाई सशक्त र बलियो पार्टी बनाउन आफूले भूमिका निर्वाह गर्ने अठोट लिएका छन् । उनी कुन समूहबाट उम्मेदवार बन्ने भने तय भएको छैन ।

यस्तै, नेता केसीले गृह जिल्ला सोलुखुम्बुबाट उम्मेदवारी घोषणा गरेका हुन् भने नेता भण्डारीले केही समयअघि नै उपसभापतिमा उठ्ने घोषणा गरिसकेका हुन् ।

महामन्त्रीमा कोको छन् आकांक्षी ?
कांग्रेसको महामन्त्री पदका लागि आठ जना आकांक्षी देखिएका छन् । महामन्त्रीमा संस्थापन समूहबाट बालकृष्ण खाँण, रमेश लेखक, डा. प्रकाशसरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद मैदानमा उत्रने तयारीमा छन् ।

यसैगरी, संस्थापन इतर समूहबाट डा. मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । तर को कुन समूहबाट उम्मेदवार बन्ने भन्ने तय भइसकेको छैन । कांग्रेस विधानमा दुई महामन्त्री रहने व्यवस्था छ ।

नेता थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ मा ३० भदौमा आयोजित एक कार्यक्रममार्फत महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए ।

यस्तै, प्रवक्ता शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसर पारेर २४ भदौमा सुन्दरीजलस्थित बीपी संग्राहलयमा आयोजित कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेका थिए भने पौडेलले तनहुँ २ को शुक्लागण्डकी नगरपालिका–८ मा आयोजित एक कार्यक्रममा केही समयअघि महामन्त्रीमा उठ्ने उम्मेदवारी घोषणा गरेका थिए । सो क्षेत्र उनको आफ्नै निर्वाचन क्षेत्र हो ।

www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्