RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/६ गते
५४८ पटक

काठमाडौँ — ‘डीवाई २८’ जातको धान नफलेर मर्कामा परेका काठमाडौं, ललितपुर र भक्तपुरका किसानले बेहोरेको क्षतिको लगत संकलन थालिएको छ । उपत्यकाका तीनवटै जिल्लाका पालिकामार्फत ‘डीवाई–२८’ जातको धानको बीउका कारण बाला नलागेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन लगत संकलन थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष भक्तपुरका चाँगुनारायण, सूर्यविनायक र काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका अधिकांश भागमा लगाइएको ‘डीवाई २८’ धानको बाला लागेको थिएन ।

कृषि ज्ञान केन्द्रको संयोजनमा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय किसान आयोग, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र, बीउबिजन व्यवसायी, स्थानीय तहमा कार्यरत कृषि प्राविधिक र पीडित किसानको प्रतिनिधित्व सम्मिलित समितिले किसानको क्षतिपूर्ति निर्धारण गरेको हो । यसअनुसार किसानलाई प्रतिरोपनी २ हजार २ सय ५० रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउन बीउ विक्रेता ‘काष्ठमण्डप ट्रेड प्वाइन्ट’ ले सहमति गरेको कृषि ज्ञान केन्द्र प्रमुख कृष्णभद्र अधिकारीले बताए ।

केन्द्रमा कात्तिक मसान्तसम्म २ हजार ८ सय ७० रोपनी क्षेत्रफलमा लगाएको धानमा क्षतिको विवरण संकलन भएको छ । यसमा पूर्ण क्षतिको विवरण आइनसकेकाले काठमाडौं, भक्तपुर र ललितपुरका पालिकालाई मंसिर ७ सम्म तथ्यांक पठाइसक्न केन्द्रले अनुरोध गरी पठाएको उनले जानकारी दिए । नेपालको राष्ट्रिय उत्पादकत्व प्रतिहेक्टर ३९ क्विन्टलका आधारमा क्षतिपूर्ति तय गरिएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । धानमा बाला नलागेर क्षति भोगेका किसानको एक रोपनी खेतमा १९५ किलो धान उत्पादन हुने अनुमानका आधारमा क्षतिपूर्ति रकम निर्धारण गरिएको हो । सोही आधारमा एक रोपनीमा १९५ किलो धान फल्ने र उक्त धानको मूल्य ४ हजार पाँच सय रुपैयाँको ५० प्रतिशत किसानलाई राहत दिन बीउ विक्रेता तयार भएको केन्द्रले जनाएको छ ।

किसान भने क्षतिपूर्ति तोकिएको रकमप्रति असन्तुष्ट छन् । ‘डीवाई २८ जातको धानको बीउ प्रतिकिलो ८ सय रुपैयाँमा खरिद गरेर खेती गरेका हौं । मल, मिहिनेतको मूल्य खोइ ?’ सूर्यविनायक नगरपालिका–७ गुन्डुका दिलीपकुमार खत्रीले भने, ‘क्षतिपूर्तिको अर्थ छैन ।’ बीउबिजनको प्रयोगबाट हुने हानि नोक्सानीको क्षतिपूर्तिसम्बन्धी निर्देशिका–२०७३ अनुसार किसानले क्षतिपूर्ति पाउने बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली अधिकृत एवं सूचना अधिकृत प्रकाश आचार्यले बताए । बीउ आयातकर्ताले क्षतिपूर्ति दिन आनाकानी गरे बीउबिजन ऐनअनुसार कारबाही हुने उनको भनाइ छ । डीवाई २८ जातको धान आयात गर्ने काष्ठमण्डप ट्रेड प्वाइन्ट सञ्चालक मधुसूदन प्रधानले भने क्षतिपूर्तिका विषयमा कुरा गर्न चाहेनन् ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्