RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१२ गते
४३५ पटक

काठमाडौँ- कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्ध युरोपेली मुलुकहरुले उच्च सतर्कता अपनाउन थालेका छन्। इङ्ल्यान्डले मास्क प्रयोगलाई अनिवार्य बनाएको छ भने इजरायलले विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने तयारी गरिरहेको छ।

दक्षिण अफ्रिकामा नयाँ प्रजाति ओमिक्रोन भेटिएपछि विभिन्न देशले त्यसलगायत छिमेकी देशहरुमाथी यात्रा गर्न रोक लगाएका छन्। नेपालले भने कुनै सतर्कता अपनाएको देखिँदैन। अध्यागमन विभागका प्रवक्ता झंङ्कनाथ ढकालले विगतकै आदेशलाई कार्यान्वयन गरिँदै आएको बताए। उनले नयाँ भेरियन्ट आएपछि विमानस्थललगायत मातहतका अध्यागमन निकायहरुमा कडाई गर्न निर्देशन दिएको बताए।

‘यात्रामा रोक लगाउने भन्ने त्यस्तो नयाँ निर्णय भएको छैन’, प्रवक्ता ढकालले भने।

यसअघि मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले कोरोना भ्याक्सिनको पूर्ण डोज लगाएको १४ दिन पुगेका विदेशी यात्रुलाई अनअराभल भिसा दिने निर्णय गरेको थियो। यसैगरि पूर्ण डोज नलगाएकाको हकमा सम्बन्धित देशस्थित कूटनीतिक नियोगबाट भिसा लगाएर आउनुपर्ने निर्णय गरिएको थियो।

रेड लिस्टमा रहेका नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्यालेस्टाइन, सिरिया र अफगानिस्तानका नागरिकको हकमा पूर्ण डोज लगाए पनि उनीहरुलाई अनअराइभल भिसा दिने व्यवस्था छैन। पछिल्लो ७२ घण्टाभित्र कोरोना परीक्षण गरी प्राप्त भएको नेगेटिभ रिपोर्ट पनि ल्याउनुपर्ने अनिवार्य व्यवस्था छ।

सरकारले नयाँ भेरियन्टको संक्रमणलाई रोक्न तत्काल निर्णय लिनुपर्ने गृह मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्।

www.deshsanchar.com

प्रतिकृया दिनुहोस्