RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१७ गते
५०५ पटक

कर्मचारी अभावका कारण कर परीक्षणका लागि छनोट भएका करदाताको कर परीक्षण कार्य सम्पन्न गर्न नसकिएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलका अनुसार जनशक्ति अभावले भएका कर्मचारीमाथि कार्यभार थपिँदा गत आर्थिक वर्ष २०७७/०७८ मा तोकिएका करदाताको कर परीक्षण गर्न नसकिएको हो ।

मूल्य अभिवृद्धि कर ऐन २०५२, आयकर ऐन २०५८, अन्तःशुल्क ऐन २०५८ ले तोकेको समय सीमाभित्र कर परीक्षणका लागि छनोट भएका करदाताको कर परीक्षण कार्य सम्पन्न गर्न नसक्दा १० हजारभन्दा बढी करदाताको जिम्मेवारी चालू आर्थिक वर्ष २०७८/०७९ मा सरेको छ ।
सूचना अधिकारी प्याकुरेलका अनुसार विभागले हरेक आर्थिक वर्षमा विभिन्न व्यक्तिको छनोट गरी कर परीक्षणका लागि आफ्ना कार्यलयमा पठाउने गर्छ ।

कार्य जिम्मेवारी अनुसार जोखिमलाई प्राथमिकता दिएर कर परीक्षण गर्दै जानुपर्नेमा जनशक्ति अभावले साधारण अवस्थामा सक्नुपर्ने कर परीक्षण पनि गर्न नसकिएको उनले बताए । “तीन वर्षदेखि लोकसेवा बन्द छ,” उनले भने, “विभागअन्तर्गत एक सयजना कर अधिकृतको ठाउँ रिक्त छ । नासुमा जति कर्मचारी आवश्यक पर्ने हुन् त्यसको २० प्रतिशत पनि छैनन् ।”

कर्मचारीहरू भएको भए अधिकांश कर परीक्षण सम्पन्न भइसकेको हुनेमा जनशक्ति अभावले जिम्मेवारी सरेको बताए । “कर परीक्षण नगर्ने भन्ने होइन । कर परीक्षण सम्पन्न नभएका कारण अर्को आर्थिक वर्षका लागि काम खप्टिएको मात्र हो,” उनले भने ।

त्यस्तै कोरोना महामारीले पनि यसमा आंशिक रूपमा प्रभाव पारेको उनको तर्क छ । “कोरोनाका कारण मानिससँग भौतिक सम्पर्क हुन पाएन,” उनले भने, “कागजातहरू हेर्न÷छुन पनि गाह्रो भयो । भएका कर्मचारी पनि बिरामी भए । प्रक्रियामा रहेका कामको पनि प्रगति हुन सकेन,” उनले भने ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्