RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१८ गते
६३७ पटक

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसको सभापतिका लागि तीनवटा समूह भिड्ने भएका छन् । यसअघिसम्म पार्टी सभापति शेर बहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले मात्र उम्मेदवारी घोषणा गरेका थिए । तर, उम्मेदवारी दर्ता गर्दा भने विमलेन्द्र निधि पक्षले पनि दर्ता गराएको छ । निधि पक्षका कालिकोटका मोतीराज बमले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै संस्थापन पक्षबाट जुम्लाका ललितजंग शाही, कालिकोटका पौडेल पक्षबाट युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही र निधि पक्षबाट बमबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

कर्णालीमा नेपाली कांग्रेसको सभापतिदेखि सदस्यहरू सम्मको पहिलोपटक नामावली सार्वजनिक भएको छ । शुक्रबार दर्ता गराएका मध्ये सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् उपसभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा उप-सभापतिका लागि कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै महामन्त्रीका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् भने सहमहामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये चार जना पुरुष र २ जना महिला रहेका छन् । जसमा महामन्त्रीमा निरञ्जन केसी, कृष्णकुमार रोकाया, कृष्णबहादुर बिसी, खगेन्द्रबहादुर मल्ल र गोविन्दबहादुर कोइरालाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सह महामन्त्री पुरुषतर्फबाट उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल र जयनन्द उपाध्यायको उम्मेदवारी परेको छ भने सह महामन्त्री महिलातर्फबाट रामछायाँकुमारी शाही र देविकाकुमारी सिंह को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा कसले मार्ला बाजी ?
कर्णाली प्रदेशको सभापतिमा कसको नेतृत्व आउने हो भन्ने सबैलाई रुचि र चासोको विषय बढेको छ । यसअघि पौडेलपक्षबाट उम्मेदवार उठेका कालिकोटका प्रदेश सभापतिका उम्मेदवार भुपेन्द्रजंग शाही युवाहरुबीच लोकप्रिय मानिएकाले सभापति जित्ने सम्भावना धेरै रहेको छ ।

तर, कालिकोटबाटै अर्का निधिबाट बम प्रतिस्पर्धी थपिएपछि शाहीलाई धक्का लाग्न सक्ने अनुमान गरिएको छ । तथापि, युवामाझ लोकप्रियता कमाएका र प्रदेशभर नै संगठन निर्माणमा ठुलो योगदान पुर्‍याएका शाहीको सभापतिमा सम्भावना बलियो रहेको छ ।

त्यस्तै कर्णालीका १० जिल्लाका सात जिल्लामा देउवा समूहले सभापति पाएको छ भने यो नजिता हेर्दा जुम्लाबाट देउवापक्षबाट प्रदेश सभापतिका उम्मेदवार ललितजंग शाहीको जित्ने सम्भावना पनि उत्तिकै बढेको देखिन्छ ।

यस्तै कर्णालीमा निधिपक्षको सङ्ख्या कमजोर छ । पौडेल पक्षको यसअघि कर्णालीमा बलियो जनाधार थियो । यो पटक भने देउवा पक्षले आफ्नो वर्चस्व ओगट्दै लगको छ । छ भने कर्णालीमा सात जिल्लामा देउवा समूह र तीन जिल्लामा पौडेल समूहले सभापति समेत पाएको छ । कर्णालीमा महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधि गरी कर्णाली प्रदेशमा ७५० मतदाता छन् ।

निधिले नेतृत्व गर्छ, विधिले कांग्रेस चल्छ : मोतीराज बम
यस्तै विमलेन्द्र निधिपक्षबाट कांग्रेस कर्णाली प्रदेश सभापतिमा उम्मेदवारी दिएका कालिकोटका मोतीराज बमले निधिले नेतृत्व गर्ने र विधिले कांग्रेस पार्टी चलाउने हिसाबमा उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

सिधासादा र पैसा नभएका, पहुँच नभएका, गुटबन्दीबाट पेलिएका, हप्किधम्किले आफ्ना कुरा अभिव्यक्त गर्न नसकेका, बिनास्वार्थ कांग्रेसमा लागेर ज्यान दिएका, हालसम्म केही नपाएकाहरूको आवाजको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

साथै बमले कांग्रेसको नाममा ज्यान गुमाएबापत उल्टो पार्टीको हेपाहा प्रवृत्ति पीडित सन्तति र सम्पूर्ण कर्णालीका नागरिकको हितमा काम गर्नको लागि उम्मेदवारी दर्ता गराएको बताएका छन् । बमले आफ्नो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् भने सबै प्रतिनिधिबाट भोट आउने विश्वास गरेको बताएका छन् ।

गुट छोडेर काँग्रेसलाई एकबद्धता बनाउन मेरो उम्मेदवारी : भुपेन्द्रजंग शाही
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट कर्णाली सभापतिका उम्मेदवार कालिकोटका भुपेन्द्रजंग शाहीले पार्टी भित्रको गुटलाई अलग गराए कांग्रेस पार्टीलाई एकबद्धता बनाए अगाडी बढ्नको लागि आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

शाहीले नेपाली काँग्रेसलाई गुटगतबाट मुक्त गराउनु नै उम्मेदवारी दिनु मुख्य योजना रहेको बताए । शाहीले भने ‘पार्टीमा गुटलाई विस्तार गर्न तर्फ नभई नेपाली काँग्रेसलाई विस्तार गर्नुपर्छ र पार्टी बलियो बनाउनुपर्छ भन्ने मेरो मान्यता छ ।’ शाहीले थपे ‘प्रदेश सभापतिमा निर्वाचित भएपछि सर्वप्रथम पार्टी भित्र देखिएको मनमुटाब, आन्तरिक लडाइलाई न्यूनीकरण, पार्टी भित्र फुटेका मनलाई जोडेर एकबद्धता बनाए र कर्णाली प्रदेशमा नेपाली कांग्रेस एक सफल, सशक्त र सफल पार्टी बनाउने मेरो सपना रहेको छ ।’

साथै शाहीले कांग्रेस पार्टीलाई सुदृढ बनाउने र सिङ्गो कर्णाली प्रदेशलाई सुखी बनाउने उद्देश्यका साथ उम्मेदवारी दर्ता गराएको र सबै पदाधिकारीले भोट गरेर जिताउनु हुने छ भन्ने आस पनि व्यक्त गरेको उनको भनाई रहेको छ ।

www.makalukhabar.com

प्रतिकृया दिनुहोस्