RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१९ गते
५८३ पटक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने राष्ट्रिय सम्मेलनका लागि तयारी तीब्र पारेको छ । त्यस अनुसार सम्मेलन व्यवस्थापनका लागि विभिन्न नेताको नेतृत्वमा उपसमितिहरु समेत बनाइएका छन् ।

माओवादी केन्द्रको मंसिर १६ र १७ गते बसेको स्थायी समिति बैठकले विभिन्न समितिहरु बनाउने निर्णय गरेको थियो। उक्त बैठकका निर्णयहरु कार्यान्वयन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले १८ बुँदे सर्कुलर समेत जारी गरेका छन् ।

जसअनुसार राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानलाई आवश्यक परिमार्जन गर्न नेता देव गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाइएको छ। जसको सदस्यहरुमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव छन्।

त्यसैगरी सम्मेलनमा पेस गरिने समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल नेतृत्वमा तीन सदस्यीय उपसमिति गठन भएको छ। समिति सदस्यहरुमा शक्तिबहादुर बस्नेत र गणेश साह रहेका छन्।

सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ। समिति सदस्यहरुमा डिलाराम आचार्य, नारायण दाहाल,सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, रामप्रसाद सापकोटा र जगत सिंखडा रहेका छन्।

प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ । सदस्यहरु भने नियुक्त गर्न बाँकी छ।

त्यसै गरि स्वाथ्य र स्वयंसेवक परिचालन उपसमिति समेत गठन हुन बाँकी छ । अर्को स्थायी समिति बैठकबाट बाँकी उपसमितिहरु गठन गर्ने माओवादी केन्द्रले जनाएको छ।

प्रतिकृया दिनुहोस्