RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१८ गते
८९७ पटक

पोखरा : राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उम्मेदवार छनोटका लागि सूची तयार पारेको छ । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि २० गते मनोनयन दर्ता गराउनुपर्नेछ । गण्डकीबाट ३ जना निर्वाचित हुनेछन् ।

आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावका लागि गण्डकीबाट ३ ‘कलस्टर’ मा ९ जनाको नाम सिफारिस भएको हो । दलिततर्फ बागलुङका गोविन्दबहादुर नेपाली, गोरखाका कृष्ण नेपाली र मनाङकी शान्तिमाया परियार सिफारिस भएकी छन् ।

महिला क्लस्टरका लागि कास्कीकी मीनाकुमारी गुरुङ, गोरखाकी सम्झना देवकोटा र नवलपुरी लीला थारु थन्नेत सिफारिस भएकी छन् । खुलाका लागि कास्कीका पुण्यप्रसाद पौडेल, बागलुङका दिलबहादुर थापा र गोरखाका प्रेम गुरुङ सिफारिस भएका छन् ।

एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीको बैठक १३ पुसमा बसेको थियो । उक्त बैठकले उम्मेदवार सिफारिस गर्न ११ वटै जिल्लाका वरिष्ठ नेताहरुको नाम इन्चार्ज र सहइन्चार्ज र दिने र उनीहरुले नै केन्द्रमा नाम सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसपछि इन्चार्ज, सहइन्चार्जहरुले ९ जनाको नाम टुंग्याएका हुन् । त्यो नाम १९ गते बस्ने प्रदेश कमिटीको सचिवालय बैठकले अनुमोदनसहित केन्द्रमा पठाउने छ । केन्द्रले ९ जनामध्येबाट ३ जनालाई राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार बनाउनेछ ।

यस्तै नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको बैठक शनिबार पोखरामा बसेको थियो । उक्त बैठकले जिल्लाजिल्लाबाट नाम मागेर आइतबार बैठक बसी उम्मेदवारको नाम सिफारिस गर्ने जानकारी कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दल कांग्रेस, माओवादी, नेकपा एस र समाजवादी जनता पार्टीले गठबन्धन गर्ने भएका छन् ।

www.annapurnapost.com

प्रतिकृया दिनुहोस्