RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/३० गते
५७९ पटक

पेरिस —  कोरोना भाइरससम्बन्धी सरकारी नियमहरूको विरोध गर्दै फ्रान्सका शैक्षिक युनियनहरूले बिहीबार राष्ट्रव्यापी हडताल गरेका छन् । विद्यालयमा हजारौं विद्यार्थीहरू कोरोनाबाट बिरामी परेको भन्दै शिक्षकहरूले विपत्तिजनक अवस्थामा पनि सरकारले नियमहरू मात्रै बदल्ने गरेको आरोप लगाएका छन्

फ्रान्सको सबैभन्दा ठूलो शैक्षिक युनियन स्नुइपसुलेले लगभग ८० प्रतिशत कर्मचारीहरू हडतालमा गएको दाबी गरेको छ । तर फ्रान्सको शिक्षा मन्त्रालयले हडताल गर्नेहरूको संख्या राष्ट्रिय स्तरमा कुल २७ प्रतिशत रहेको सार्वजनिक गरेको छ । प्राथमिक विद्यालयहरूमा भने करिब ४० प्रतिशत कर्मचारीहरू हडतालमा उत्रिएको बताएको छ ।

हडतालका कारणले कम्तीमा आधा विद्यालयहरू बन्द भएको फ्रान्सेली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शैक्षिक युनियनहरूले यसलाई ऐतिहासिक गतिशीलता भनेका छन् । उनीहरुले यो भाइरसविरुद्धको हडताल नभएर ‘विद्यालयहरूमा बढ्दो आक्रोशको प्रतिबिम्ब’ भनेका छन् ।

हडतालमा उत्रिएका धेरै शिक्षकहरूले ‘हामीहरू संकटमा छौं’, ‘प्रोटोकलको अविश्वाश = अव्यवस्थित विद्यालय= शिक्षक र विद्यार्थी संकटमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

‘हडताल ऐतिहासिक छ । स्कुलहरूमा धेरै लामो समयदेखि यति धेरै हडलकर्ताहरू कहिल्यै थिएनन्,’ सबैभन्दा ठूलो शिक्षक युनियनको रोन क्षेत्रका सह-सचिव बेन्जामिन ग्रान्डनरले पत्रकार सम्मेलनमा भनेका छन् । विद्यालयहरू कागजमा खुला भए पनि वास्तवमा शिक्षकहरुले विद्यार्थीहरूलाई सिकाउन असक्षम रहेको भनाइ शिक्षकहरूको छ ।

द्यालयको नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै शिक्षकहरुले तीन पटक प्रोटोकल परिवर्तन गरिसकेको, हरेक हप्ता, हरेक दिन अभिभावकहरूलाई फरक-फरक जानकारी दिने गरेकोले अभिभावक, शिक्षक र विद्यार्थी सबै हैरान परेको शिक्षकहरुको भनाइ छ । शिक्षकहरूले सरकारमाथि कोरोना महामारीलाई राम्रोसित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् । कतिपय शिक्षकले आफ्नो स्कुलमा अघिल्लो हप्ताभरिमा ३० जना संक्रमित भएकोमा हाल एकै दिन ५२ विद्यार्थीहरुमा कोरोना लागेको तर त्यसमा कुनै परिवर्तन नभएको गुनासो गरेका छन् ।

स्कुलका शिक्षक र विद्यार्थीहरूलाई सुरक्षित बनाउन लामो समयदेखि मास्क मागिरहेको, कतिपय स्कुलमा एक वर्ष अघि किनिएको मास्क लगाउन बाध्य भएको र मन्त्रालयले शिक्षकलाई सर्जिकल मास्क वा एफएफपी-२ मास्क आपूर्ति नगरेको आरोपसमेत शिक्षकहरुको छ

स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरू सबैभन्दा धेरै तनावमा रहेको शिक्षकहरूले बताएका छन् । ती विद्यार्थीले मार्चमा विशेष परीक्षा दिनुपर्ने तर तिनका सबै कक्षाहरू छुटेकाले उनीहरु तनावमा रहेको भनाइ तिनको छ । सबै विद्यार्थीहरुलाई भर्चुअल माध्यमको पहुँच नभएको, सबै शिक्षकले त्यो प्रविधि नजानेको भन्दै सरकारले भर्चुवल शिक्षा भनेर व्यवहारिकता नहेरी लाद्ने काम गरेको आरोप युनियनहरुले लगाएका छन् ।

कसैलाई कोभिड-१९ भएको छ भने कक्षाका सबै विद्यार्थीहरूले हप्तामा तीन पटक कोरोना परीक्षण गर्नुपर्ने, अन्यथा कक्षा बन्द गर्नुपर्ने सरकारले गत साता सर्कुलर गरेको भन्दै शिक्षकहरु थप आक्रोशित बनेका हुन् ।

शिक्षकहरूले देशव्यापी हडताल गरेकै दिन प्रधानमन्त्री जँ कास्टेक्स र शिक्षक प्रतिनिधिहरूबीच विहिवार साँझ ढिलोसम्म वार्ता भएको थियो ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्