RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/१ गते
७७३ पटक

माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकु उत्पादन र व्यापार तीव्र हुन थालेको छ ।काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो ।

जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउनमा व्यस्त छन् । चाकुको मूल्यमा भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताए । उनले अहिले माघे संक्रान्ती नजिकिएकोले पनि धेरै मानिसहरु चाकु किन्न आइरहेको बताए । ज्यानमा फुर्ति, ल्याउन र शरीरलाई तातो बनाइराख्नका लागि चाकुले सहयोग गर्ने उनले बताए ।

“पहिलाको जति थियो अहिले पनि त्यत्ति नै मूल्यमा छ । भक्तपुर काठमाडौं सबैतिरबाट किन्न आएको छ” उनले भने, “जोडो महिनामा धेरै बिक्री हुन्छ । उत्पादक महर्जनले गर्मी महिनाभन्दा जाडो महिनामा चाकुको व्यापार धेरै हुने भएकोले माग अनुसारको उत्पादन गर्न नसकेको उनले बताए ।

यस्तै सक्रान्तिकै लागि तरुलको व्यापार पनि बढेको छ । कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको हो । तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताए । उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको जानकारी दिए । गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको साहको भनाइ छ ।
यता, चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १५० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारी ईश्वर ढकालले बताएका छन् । रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढी भएको उनको भनाइ छ ।

व्यापारीहरुका अनुसार यस वर्र्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढी भित्रिएको छ । ग्राहकहरुले पनि सस्तो मूल्य हुने भएकाले कालिमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन् । ललितपुरकी मुना थापाले सस्तोमा पाइने भएकाले तरुल खरिद गर्न आफू कालिमाटी तरकारी बजारमै आएको बताइन् ।

अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो । माघे संक्रान्तिमा तरुल पनि खाने हाम्रो प्रचलन रही आएको छ ।

प्रतिकृया दिनुहोस्