RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/१३ गते
२७६ पटक

राष्ट्रियसभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले वर्चश्व कायम गरेको छ। गठबन्धनले १८ सिट जित्दा एमाले एक सिटमा सीमित रहन पुग्यो। कांग्रेस ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ५/५, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले एक/एक स्थान जितेका हुन्।

यससँगै राष्ट्रियसभामा कांग्रेसले ३, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले १/१ सिट बढाएका छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार माओवादी केन्द्रले १५, कांग्रेसले १० र एकीकृत समाजवादीले ८, जसपाले ३ सिट पुर्‍याएका छन्। यस्तै, राष्ट्रियसभामा जनमोर्चाको प्रवेश भएको छ। यद्यपि, पहिलो ठूलो दल भने एमाले नै यथावत् छ। उसको १७ सिट छ।
प्रदेश १ मा महिलातर्फ एकीकृत समाजवादीकी जयन्तीदेवी राई र अन्यतर्फ कांग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन्। राईले एमालेकी सुमित्रा सुवेदी भण्डारीलाई पराजित गरिन्। बस्नेत एमालेका गुरु बरालसँग मत बराबरी हुँदा गोला तानेर विजयी भएका हुन्। अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ भने एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका हेमराज राईलाई शेर्पाले पराजित गरेका हुन्।

मधेसबाट महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्यतर्फ जसपाका मोहम्मद खालिद सिद्धिकी, बागमतीबाट अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलातर्फ एकीकृत समाजवादीकी गोमा तिमल्सिना विजयी भएका छन्। गण्डकीबाट महिलातर्फ कांग्रेसकी कमला पन्त, दलिततर्फ माओवादी केन्द्रका भुवन सुनार र अन्यतर्फ माओवादी केन्द्रकै सुरेश आले मगर राष्ट्रियसभा सदस्य बनेका छन्। उनीहरूसँग एमाले उम्मेदवार क्रमशः लीला थनेत, अर्जुन सुनाम र पुण्य पौडेल प्रतिस्पर्धामा थिए। लुम्बिनीबाट कांग्रेसका युवराज शर्मा, एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार कांग्रेसकी दुर्गाकुमारी गुरुङ, माओवादी केन्द्रका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदय बोहरा विजयी भएका छन्। सुदूरपश्चिमबाट कांग्रेसका नारायणदत्त मिश्र, एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) र माओवादी केन्द्रका जगतबहादुर पार्की राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन्। प्रदेश १ मा महिलातर्फ राईले ४ हजार ६ सय ३२, भण्डारीले ४ हजार ३ सय ६२ र राप्रपाकी रन्जु प्याकुरेलले १ सय २० मतभार प्राप्त गरे।

अन्यतर्फ बस्नेत र बरालले बराबरी ४ हजार ४ सय ८८ मतभार प्राप्त गरेका थिए। मत बराबरी भएपछि भएको गोला प्रक्रियामा बस्नेत विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सोही सिटमा राप्रपाका अम्बरबहादुर बिष्ट पनि उम्मेदवार थिए।

अन्यतर्फ एमालेका एक प्रदेश सांसदको मत राप्रपा उम्मेदवारलाई गएको पाइएको छ। प्रदेश १ मा एमालेका ४० प्रदेश सांसदमध्ये ३९ मत खसेको हो। फरार रहेकी एमालेकै सांसद गुलेफुन खातुन भने मतदानमा उपस्थित भइनन्। एमालेका बरालले ३८ मत मात्रै प्राप्त गरे। अन्यतर्फ कांग्रेसका एक सांसदको मत बदर भएको छ। अल्पसंख्यकतर्फ शेर्पाले ४ हजार ७५२ र राईले ४ हजार ३ सय ४६ मतभार प्राप्त गरेको जनाइएको छ। शेर्पाले प्रदेश सांसदतर्फ गठबन्धनको दुई मत थप प्राप्त गरेका छन्।

मधेसमा अर्यालले ६ हजार १ सय ५६ र लोसपाकी रूपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार पाए। यादवलाई एमालेको समर्थन थियो। यद्यपि, एमाले उम्मेदवार विनादेवी साहको पक्षमा ३ सय ६ मतभार परेको छ। सिद्धिकीले ६ हजार ६ सय ७८ र एमाले–लोसपा गठबन्धनबाट उस्मान अन्सारीले २ हजार ७ सय ६६ मतभार ल्याए। दुई प्रदेशसभा सदस्य र ४ स्थानीय जनप्रतिनिधिसहित ६ जनाले मतदान गर्न नसकेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए।

बागमतीमा अन्यतर्फ पौडेलले ४ हजार ७ सय ९४ र निकटतम प्रतिद्वन्द्वी एमालेका गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गरे। नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२  मतभार प्राप्त गरे।

महिलातर्फ तिमल्सिनाले ४ हजार ८ सय २४ र निकटम प्रतिस्पर्धी एमालेकी निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरे। नेमकिपाकी गीता काफ्लेले एकसय ३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। महिला र अन्य दुवैमा दुई÷दुई मत बदर भएको थियो। ३ सय ४६  मतदाता रहेकोमा विवेकशील साझा पार्टीका तीन मतदाता अनुपस्थित भए।
गण्डकीमा पन्तले ३ हजार ४८, सुनारले पनि त्यत्ति नै र मगरले ३ हजार ९६ मतभार पाए। एमालेबाट थनेत र अर्जुनको समान २ हजार ७ सय २४ र पौडेलको २ हजार ६ सय ९४ मतभार आएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले बताए।

गण्डकी प्रदेशसभामा कांग्रेससहित गठबन्धनका ३१ सांसद छन्। ८५ स्थानीय तह छन्। प्रदेशसभामा एमाले सांसद संख्या २७ छ। तर पन्त, सुनारलाई उनीहरूको पार्टीका गठबन्धनका प्रदेशसभाका ३१ मध्ये २ सांसदले मत हालेनन्। आलेलाई पनि १ मत कम आयो। पन्त र सुनारलाई प्रदेश सांसद २९ जनाको मात्रै मत परेको थियो। उनकी प्रतिस्पर्धी एमालेकी थनेतलाई आफ्नो पार्टीका २७ र बाँकी २ गरी २९ प्रदेश सांसदको मत आएको थियो। सुनामलाई पनि प्रदेश सांसद २९ जनाले मत हालेका थिए। अन्यतर्फको निर्वाचनमा एक प्रदेश सांसदको मत बदर भएको थियो। मगरले भने ३० सांसदको मत पाए। एमालेका पौडेललाई प्रदेशसभामा भएका २७ एमाले सांसदभन्दा १ बढी २८ जनाको मत आयो।

लुम्बिनीमा अन्यतर्फ शर्माले ४३४४ र प्रतिद्वन्द्वी एमालेका रामदयाल गुप्ताले ३ हजार ३ सय ७८ मतभार पाए। महिलातर्फ गैरेले ४ हजार ३ सय ७४ र प्रतिद्वन्द्वी एमालेकी भारती उपाध्याय खनालले ३ हजार ३ सय १२ मतभार प्राप्त गरे। दलिततर्फ विश्वकर्माले ४ हजार ३ सय ५६ र प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३ हजार ३ सय ४८ मतभार प्राप्त गरे।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार कुल २ सय ९६ मतदातामध्ये २ सय ९४ मत खस्यो। राप्रपाबाट निर्वाचित नेपालगन्ज उपमहानगरका मेयर धवलशमशेर राणासहित दुई मतदाता भने मतदानमा उपस्थित भएका थिएनन्।

कर्णालीमा महिलातर्फ गुरुङले २ हजार ९ सय ७०, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ विष्ट र अन्यतर्फ बोहराले समान ३ हजार ६ मतभार प्राप्त गरेको सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले बताए। यस्तै ३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

एमालेबाट गंगा थापा महतले १ हजार ४ सय १६, पदमबहादुर माझीले १ हजार ३ सय ९८ र चूडामणि शर्माले एक हजार चार सय १६ मत मात्र प्राप्त गरेका छन्। प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भएको थियो। निर्वाचनमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र पालिकाका एक सय ५६ जना पदाधिकारीमध्ये १ सय ५५ जनाको मत खसेको थियो। राप्रपाका प्रदेशसभा सदस्य शोशीला शाही र कालिकोटको तिलागुफा नगरपालिकाका उपप्रमुख दन्ता नेपाली मतदानमा सहभागी भएनन्।
सुदूरपश्चिममा अन्यतर्फ मिश्रले प्रदेशसभातर्फ १ हजार ८ सय ७२ मतभार र स्थानीय तहतर्फ १ हजार ८ सय ७२ मतभार पाए। उनका प्रतिद्वन्द्वी एमालेका डिल्लीराज भट्टले प्रदेशसभातर्फ ६ सय २४ मतभार र स्थानीय तहतर्फ १ हजार २ सय ७६ मतभार प्राप्त गरे।

महिलातर्फ शाहले प्रदेशसभातर्फ १ हजार ८ सय ७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९ सय ६२ मतभार पाइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी शर्मा (थापा)ले प्रदेशसभातर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार १ सय ५२ मतभार प्राप्त गरेकी छन्।

दलिततर्फ पार्कीले प्रदेशसभातर्फ १ हजार ८ सय ७२ र स्थानीय तहतर्फ १ हजार ८ सय ९० मतभार पाए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेशकुमार विश्वकर्माले प्रदेशसभातर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार २ सय ६ मतभार प्राप्त गरेका छन्।

जसको सकिँदै छ पदावधि
आगामी फागुन २० गते १९ निर्वाचित र एक राष्ट्रपतिबाट मनोनीत (रामनारायण बिडारी) गरी २० जनाको पदावधि सकिँदै छ। जसमा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ छन्। सातै प्रदेशमा गरी नौ दलका ४३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

कुल २ हजार २५ मतदातामध्ये २ हजार ७ जनाले मतदान गरेको आयोगले विज्ञप्तिमार्फत जनाएको छ। यो निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य र स्थानीय तहका गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख र उपप्रमुख मतदाता थिए। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ छ।

ww. annapurnapost.com

प्रतिकृया दिनुहोस्