RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/२३ गते
५९० पटक

सुर्खेत : नेतृत्व परिवर्तन भएको तीन महिनापछि आइतबार कर्णाली सरकारले पूर्णता पाएको छ। लामो समयदेखि रिक्त पाँच मन्त्रालयमा मन्त्री नियुक्त भएसँगै आठ सदस्यीय कर्णाली मन्त्रिपरिषदले पूर्णता पाएको हो।

 

 

नव नियुक्त पाँचै जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट दुई/दुई तथा नेकपा (एकीकृत समाजवादी)बाट थप एक जनालाई मन्त्री नियुक्त गरेका हुन्।

नेपाली कांग्रेसबाट हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा र कार्चेन लामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्।

नेकपा एकीकृत समाजवादीबाट पदम रोकायालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा नियुक्त गरिएको छ। कांग्रेसबाट मुख्यमन्त्री शाहीसहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन्।

लामा मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन्। उनले चीनको ताक्लाकोटमा रहेको गुम्बाको मूर्ति चोरी गरेको आरोपमा सजाय पाएका थिए।

झण्डै १२ सय वर्ष पुरानो प्राचीन मूर्ति चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा मुद्दा अदालतमा दर्ता गरेको थियो।

त्यसको दुई वर्षपछि २०५१ मंसिर २५ गते तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायको इजलासले लामालार्ई दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। लामा हाल सांसद समेत छैनन्। माओवादी कर्णाली प्रदेशसभा दलभित्रै उनलाई मन्त्री बनाउन हुँदैन भनेर विवाद भइरहेकाे छ।

लामो समयसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय शीर्ष नेताले विवाद समाधान गरेका हुन्।

ww.thahakhabar.com

प्रतिकृया दिनुहोस्