RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/२/१८ गते
९४३ पटक

जुम्ला । स्थानीय निर्वाचन सकिएपछि फुर्सदिला बनेका कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो छ । जिल्लाका सिँजा, पानसय ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ ।

जुम्लामा जेठ पहिलो साताबाट मार्सी रोप्न सुरु गरिन्छ । मार्सी धानको बेर्ना भने चैतमै राखिन्छ  ।

‘यहाँका किसानको कृषि क्यालेन्डरअनुसार मार्सी जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिमसम्म भिœयाउने परम्परा छ । यसैलाई निरन्तरता दिइरहेका छौं,’ तातोपानी गाउँपालिका–७ सर्मीका दलजित बुढाले भने, ‘गत वर्ष कोरोनाको डर थियो यो वर्ष ढुक्कले रोपार र हलीहरू समूह बनाएर रोपाइँमा व्यस्त छन् ।’

स्थानीय लक्ष्मीकला रावतका अनुसार, रोपाहार लावालस्करका साथ मागल गाउने हुनाले जिउलोमा रौनकता छाएको छ ।

जुम्ली मार्सीधानको खेतीको सुरुवात भने तातोपानी गाउँपालिकाको गुरुफोक्टोबाट भएको इतिहास छ । अहिले तातोपानी गाउँपालिकाको लाछु ज्युलोमा मार्सीधान मात्रै रोप्ने गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईंले बताए ।

कृषि विज्ञका अनुसार हुर्कन धेरै समय लाग्ने र बढी उचाइमा फल्ने हुँदा मार्सी चामलको स्वाद निकै मिठो हुने गर्छ ।

जुम्लामा २ हजार ९ सय हेक्टर क्षेत्रमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए । ‘विगतका वर्ष जुम्लामा ३ हजार ९० हेक्टरमा धान खेती हुँदै आएको थियो, गत कात्तिकको बाढीले २६ हेक्टर बगाएको छ,’ उनले भने ।

यो वर्ष ६ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ । मार्सी चामलको माग बढ्दै गएको स्थानीय व्यापारी बताउँछन् ।

जिल्लाबाहिरबाट पुग्ने पर्यटकले जुम्लाको चिनोका रूपमा मार्सी चामल किनेर लैजाने गरेको स्थानीय व्यापारी रामदेवी रोकायाले बताइन् । ‘जुम्लाको पहिचान मार्सी चामल बनेको छ तर पछिल्लो समय विभिन्न रोगले यसको उत्पादनमा गिरावट आएको छ,’ किसान धनबहादुर रावलले भने ।

यो धानबाली विश्वको सर्वोच्च (२ हजार ८ सय ५० मिटरको) उचाइमा फल्ने गरेको छ । विश्वको सबैभन्दा बढी उचाइमा धान खेती हुने जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर जिउलो हो  ।

प्रतिकृया दिनुहोस्