RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/२/२१ गते
९४१ पटक

काठमाडौं असार लाग्न अब १० दिन मात्र बाँकी रहेको बेला अहिले धान रोपाइँ गरेको खेत र मकैबालीमा हाल्ने रासायनिक मलको अभाव छ । खेतीको मुख्य सिजनमै रासायनिक मल नपाएपछि अहिले कृषक सडकमा उत्रिएर सरकारलाई दबाब दिन थालेका छन् ।

मल खोज्न जाँदा बजारमा नभेटिएको र धान रोपाइँ र मकैबालीमा हाल्नुपर्ने रासायनिक मल अभाव भएपछि अहिले काठमाडौं उपत्यकालगायत वरिपरि जिल्लाका किसान काँधमा हलो–जुवा र हातमा धानको बिउका मुठासहितका कृषिजन्य सामान बोकेर सडक प्रदर्शनमा उत्रिएका छन् ।

धान रोपाइँको सिजन सुरु भइसक्दा पनि अझै मल नपाएपछि सरकारलाई दबाब दिन नेपाल मजदुर किसान पार्टीको नेपाल क्रान्तिकारी किसान संघले शुक्रबार काठमाडौमा निकालेको दबाब -यालीमा सहभागी किसान काँधमा हलो–जुवा र हातमा धानको बिउका मुठासहितका कृषिजन्य सामान बोकेर सडक प्रदर्शनमा उत्रिएका हुन् ।

यस प्रदर्शनमा सयौं किसानलाई सडकमा उतारेर नेपाल क्रान्तिकारी किसान संघले खेती लगाउन तुरुन्त रासायनिक मल उपलब्ध गराउन माग गरेको थियो । किसानहरूले असारे धान रोप्न खेत तयार भइसक्दा पनि अझै आवश्यक मल नपाएपछि सडकमा उत्रिएर यस्तो प्रदर्शन गरेका हुन् । सो प्रदर्शनीमा सहभागी किसानहरूले ‘धान रोप्ने बेला भइसक्यो किसानले मल कहिले पाउने सरकार’, ‘भ्रष्टाचारीहरूलाई कारबाही गर,’ ‘रासायनिक मलको व्यवस्था तुरुन्त गर’ जस्ता नारासहित दबाबमूलक सडक ¥याली गरेका थिए ।

काठमाडौको रत्नपार्कबाट सुरु भएको सो ¥याली बागबजार, पुतली सडक, प्रदर्शनी मार्ग, शहीद गेट, न्युरोड, इन्द्रचोक, भेडासिंह, असन हुँदै भोटाहिटीसम्म पुगेको थियो । खेती लगाउने मुख्य सिजनमै मल अभावको समस्या भोग्न बाध्य किसानले जतिसक्दो छिटो बजारमा मलको सहज आपूर्तिको व्यवस्था मिलाउन माग गरेका छन । उनीहरूले आपूmहरूको यस्तो जायज मागप्रति सरकार गम्भीर नभए देशले ठूलो आर्थिक क्षति र भोकमरीको सामना गर्नुपर्ने बताएका छन् ।

चरम मल अभावको समस्या भोग्न बाध्य किसान यसरी दबाबमूलक सडक आन्दोलनमा उत्रिरहँदा शुक्रबारको संसद्मा अर्थमन्त्री जनार्दन शर्माले भने अब सरकारले मलको अभाव हुन नदिने दाबी गरे । गत १५ जेठमा सार्वजनिक भएको आगामी आर्थिक वर्षको नयाँ बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले अब मलको अभाव नहुने दाबी गरेका हुन् । उनले आगामी आर्थिक वर्ष कृषि उत्पादन र पर्यटन प्रवद्र्धनका लागि गरिएको लगानीलगायत समग्रतामा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने बताए ।

उनले सरकारको यस्तो लक्ष्य पूरा गर्न अब किसानलाई विगतका वर्षमा जस्तो खेती लगाउने सिजनमा रासायनिक मलको अभाव हुन नदिने जिकिर गरे । अर्थमन्त्रीले यस्तो भनेर सरकारको कमजोरी ढाकछोप गर्ने प्रयास गरे पनि अहिले काठमाडौं उपत्यकानजिकका जिल्लाका किसान मात्र नभएर तराईका कृषकसमेत धान रोपाइँको सिजनमा मल नपाएको भन्नेर विभिन्न ठाउँको कृषि सामग्री कम्पनीको कार्यालयमा धर्ना र नाराबाजी गरिरहेका छन् ।

किसानको यस्तो आक्रोश र नाराबाजीबीच अर्थमन्त्री शर्माले भने कृषकलाई बीउ र मल अभाव हुन नदिने भन्दै अब मल र बीउका लागि पर्याप्त बजेट विनियोजन भएकाले आवश्यकताअनुरूप बजेट व्यवस्थापन हुने दाबी गरेका छन् ।

www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्