RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/१४ गते
४४८ पटक

काठमाडौँ — उपत्यकामा हैजाका बिरामी थपिने क्रम नरोकिएपछि विज्ञहरुले पानी र खानेकुरामा विशेष सावधानी नअपनाए स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् । काठमाडौं उपत्यकाका १० ठाउँमा १२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।

दुई साताअघि बागबजारमा डेरा गरी बस्ने दिदीबहिनीमा पहिलो पटक हैजा देखिएको थियो । त्यसयता यसको संक्रमण क्रमश: विस्तार हुने क्रममा छ । डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसी बजार, नैकाप र कोटेश्वरमा हैजा पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले बिरामीको संख्या वृद्घि हुँदै गएको बताए । उनका अनुसार पाटन अस्पताल र वयोधा अस्पतालमा एकएक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जना हैजाका बिरामी उपचाररत छन् ।

प्रदूषित पानी र स्ट्रिट फुडका कारण हैजा फैलिरहेको आशंका गरिएको छ । ‘राजधानीमा उपयोग हुने जार, धारा, बोरिङ, टयुबेलको पानीमा इ–कोलाइ, कोलिफर्म देखिएको छ,’ डा. दासले भने, ‘पानी शुद्घ नरहेसम्म हैजाको बिस्तार रोक्न सहज हुँदैन ।’ सानेपाबाट संकलित ८ वटा पानीको नमूनामध्ये ५ वटामा इ–कोलाइ जीवाणु पाइएको प्रतिवेदन सोमबार आएको हो । ‘आन्द्रामा पाइने इ–कोलाइले पानी संक्रमित रहनुको अर्थ यसमा दिसा मिसिएको बुझ्नुपर्छ,’ उनले भने । डिल्लीबजारबाट संकलित पानीको नमुनामध्ये २ वटा र बागबजारबाट संकलित नमुनामध्ये ३ वटामा इ–कोलाइ र कोलिफर्म भेटिएको छ । थानकोट र बल्खुको पानीको रिपोर्ट भने आएको छैन ।

टेकु अस्पतालकी निर्देशक डा. मनिषा रावलले मनसुनका कारण पानीको मुहान प्रदूषित हुने भएकाले थप सावधानी अपनाउनुपर्ने बताइन् । ‘हामीले समयमै सचेतता अपनाएनौं हैजा विस्फोटक रुपमा फैलने जोखिम छ ।’ बरिष्ठ जनस्वास्थ्य विज्ञ डा. राजेन्द्र बीसी हैजाको जोखिम कम गर्न स्ट्रिट फुडको गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन् । तत्काल यसतर्फ कदम नचालिए हैजा नियन्त्रणबाहिर जान सक्ने उनको भनाइ छ ।

विज्ञहरुका अनुसार सार्वजनिक स्थानमा थुप्रिएको फोहार र त्यसका कारण पानीका स्रोत प्रदूषित हुँदा हैजा फैलिने जोखिम बढ्छ । ‘फोहरले गर्दा इ–कोलाइ, कोलिफर्म अर्थात् मान्छेको आन्द्रामा पाइने जीवाणु (दिसाको संक्रमण) ले पानी प्रदूषित भएको छ,’ डा. बीसीले भने । हैजा फैलिने प्रमुख कारण संक्रमित व्यक्तिको दिसाले प्रदुषित खाद्य पदार्थ र पानी नै हो । ‘जार, धारा, क्यान्डिल फिल्टरको पानी मात्र नभई सकेसम्म सबै खालको पानी राम्ररी उमालेर मात्र सेवन गरौं,’ डा. बीसी भन्छन्, ‘मम:मा हालिने झोल, पानीपुरीको पानी, झिंगा भन्केको, चिसो तरल खाद्य पदार्थ हालका लागि सेवन नगरौं ।’

स्कूल, कलेज, कार्यालयहरुको क्यान्टिनको सरसफाई र खानेकुराको गुणस्तरमा पनि ध्यान दिन विज्ञहरुले सुझाएका छन् । विद्यार्थीलाई नङ काट्ने, नुहाउने र सरसफाईमा ध्यान दिनेबारे जानकारी दिइराख्न पनि उनीहरुले आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) का अनुसार हैजा ‘भिब्रियो कोलेरा’ नाम जीवाणु (ब्याक्टेरिया) द्वारा आन्द्रामा हुने संक्रमणका कारण लाग्ने झाडा पखालासम्वन्धि एक गम्भिर रोग हो । दुषित आहार वा पानीबाट जिवाणु शरीरमा प्रवेश गरेपछि हैजाको संक्रमण हुन्छ । यस्तो जिवाणुको संक्रमणले आन्द्राको कोषिकाबाट बढी मात्रामा पानी निस्किन थाल्छ र चौलानी जस्तै दिसा हुन्छ । संक्रमण भएको २४ घन्टा देखी ५ दिन सम्ममा लक्षण शुरु हुन्छ । एकपटक लक्षण देखिए यसले ३ देखी ६ घन्टामा घातक रुप लिन सक्छ । बिरामीमा रक्तचाप कम हुने भएकाले समयमै उपचार नभए मृत्युसमेत हुन सक्छ ।

यसैबीच, हैजा नियन्त्रणमा सरकार गम्भीर नभएको सांसदहरुले आरोप लगाएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार हैजा संक्रमणबारे भएको छलफलमा उनीहरुले सरकारको ध्यानाकर्षण गराए । उपत्यकामा थुप्रिएको फोहोरका कारण हैजा फैलिएको भन्दै उनीहरुले बेलैमा न्यूनीकरण गर्न र आवश्यक तयारी अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले काठमाडौंका विभिन्न स्थानका पानी कम्पनीहरुको परीक्षण र अनुगमनको आवश्यकता समेत औंल्याए । बेलैमा हैजा नियन्त्रण र न्यूनीकरणका उपाय नगरे भयावह रुप लिन सक्ने उनीहरुको चेतावनी थियो ।

बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले हैजा फैलिनुको कारण र यसको नियन्त्रणका लागि गरिएका प्रयासबारे बताएका थिए । हैजा नियन्त्रणका लागि विभिन्न सरोकारवालासँगको सहकार्यमा नियन्त्रणको प्रयास भइरहेको उनीहरुले जानकारी गराए ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्