RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/१६ गते
३८० पटक

विराटनगर : बाढी र डुबानका कारण मोरङमा १ हजार ७ सय १८ परिवारका साढे छ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार वर्षापछिको बाढी र डुबानका कारण १ हजार ७ सय १८ परिवारले घर छाड्नुपर्ने अवस्था आएको हो ।

विस्थापित बनेका ६ हजार ७ सय १७ जनालाई विद्यालय, सार्वजनिक स्थल, सामुदायिक भवन समेतमा अस्थायी बसोबासको व्यवस्था मिलाएर राखिएको उनको भनाइ छ ।

विस्थापितमध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकाका छन् । महानगरपालिकाको पनि सिंघिया र केशलिया खोला आसपासमा बसोबास गर्दै आएका सुकुम्बासी बढी प्रभावित बनेको जानकारी दाहालले दिए । उनका अनुसार विस्थापित हुनेहरु विराटनगरसहित जहदा, कटहरी, धनपालथान, ग्रामथान र बूढीगंगा गाउँपालिका तथा रंगेली नगरपालिकाका छन् ।

भीषण वर्षा हुँदा मोरङका अधिकांश स्थान डुबानमा परेपछि मंगलबार र बुधबार ठूलो संख्यामा सर्वसाधारण विस्थापित बन्नुपर्ने अवस्था आएको छ । बाढीले घरमा क्षति गरेपछि र घर डुबानमा परेपछि बस्नसक्ने अवस्था नभएर सर्वसाधारण विस्थापित बनेको जानकारी प्रजिअ दाहालले दिए ।

बुधबार साँझदेखि भने वर्षा रोकिएर जनजीवन सामान्य बन्दै गइरहेको छ । डुबान क्षेत्रमा पानीको सतह घट्दै गइरहेको छ । वर्षा रोकिएसँगै अवस्था सामान्य बनेर डुबानमा परेका स्थानमा पानी कम हुँदै गएपछि विस्थापितहरु आ-आफ्नो घरतिर फर्कने तयारीमा रहेको उनले बताए ।

‘डुबान भएका क्षेत्रमा चार फिटसम्म पानी जमेको थियो । अहिले पानीको सतह घट्दै गएर डुबानमुक्त भएपछि विस्थापितहरु आफ्नै घर फर्कने तयारी गर्दै छन्,’ प्रजिअ दाहालले  भने, ‘केही परिवार भने फर्किसकेका छन् । वर्षा रोकिएकाले अवस्था सामान्य बन्दै गइरहेको छ,’ फेरि वर्षा भएमा बाढीपीडितहरु पुनः समस्यामा पर्नसक्ने उनको आकलन छ ।

www.annapurnapost.com

प्रतिकृया दिनुहोस्