RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/२८ गते
६३१ पटक

काठमाडौँ — असारको तीन सातामै वाणिज्य बैंकहरुमा १ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । असारमा सरकारको पुँजीगत खर्च बढ्दा त्यसको सकारात्मक असर बैंकको निक्षेपमा परेको हो । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार असारको ३ गतेसम्म कुल ४३ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । असार २४ गतेसम्म आउँदा ४४ खर्ब ९४ अर्ब पुगेको छ ।

असारको ३ गतेयता हरेक साता निक्षेप उच्च दरले बढेको छ । असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रहेको निक्षेप १७ गतेसम्म ४४ खर्ब ३२ अर्ब र २४ गतेसम्म ४४ खर्ब ९४ अर्ब पुगेको हो । असारको तीन साताको अवधिमा कर्जा प्रवाह भने १४ अर्बले घटेको छ ।

असार ३ गतेसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा २४ गतेसम्म ४१ खर्ब ७४ अर्बमा झरेको छ । असार मसान्तसम्म निक्षेपमा कर्जाको अनुपात (सीडी रेसियो) सबै बैंकले ९० प्रतिशतभन्दा तल झार्नुपर्ने बाध्यकारी व्यवस्थाले पनि बैंकहरु कर्जा प्रवाहमा संयम देखिएका छन् । राष्ट्र बैंकका अनुसार हाल वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.१४ प्रतिशत छ । असारमा बैंकहरुले कर्जाको नयाँ प्रस्ताव राेक्दा पनि कर्जा रकम घटेको हो ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्