RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/५ गते
५८४ पटक

सरकारले आफैं निर्माण गर्ने भनिएको फुकोट–कर्णाली जलविद्युत् आयोजनाका लागि लगानी जुटाउने गृहकार्य सुरु भएको छ। कुल ४ सय ८० मेगावाट जलविद्युत् उत्पादन क्षमताको सो आयोजनामा सरकारले लगानी जुटाउने प्रयास गरिरहेको हो। आगामी वर्षदेखि निर्माण कार्य सुरु गर्ने योजनाका साथ प्रक्रिया अगाडि बढिरहेको छ।

सो जलविद्युत् आयोजना कालिकोट जिल्लामा सान्नीत्रिवेणी गाउँपालिकामा निर्माण हुनेछ। फुकोट–कर्णाली जलविद्युत् आयोजनाका प्रमुख हिरामन वाइबाका अनुसार आयोजनाको सम्पूर्ण संरचना सो गाउँपालिकाका वडा नं १, २ र ३ मा बन्नेछ। आयोजना प्रमुख वाइबाका अनुसार उक्त कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार पारिसकेको छ।

आयोजनाको डीपीआरअनुसार आयोजनाको अनुमानित लागत ९२ अर्ब ३० करोड रूपैयाँ छ, तर आयोजना निर्माणका लागि आवश्यक पुँजी संरचनाका विषयमा पनि छलफल भइरहेको छ।

सरकार एक्लैले निर्माण गर्नेभन्दा पनि विदेशी लगानीकर्ता वा स्वदेशी लगानीकर्तासँग पनि छलफल भइरहेको वाइबाले बताए। ‘अर्को वर्षदेखि आयोजना निर्माण सुरु गर्न खोजेका छौं, अहिलेसम्म लगानी सुनिश्चित भएको छैन। सरकारले मात्रै लगानी गर्न नसक्ने अवस्था देखियो। बाह्य लगानी भिœयाउनुपर्ने आवश्यक भएकाले लगानीको सुनिश्चित कसरी गर्ने भन्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ। हामी लगानीकर्ता खोजिरहेका छौं’, उनले भने। विद्युत् उत्पादन कम्पनी नेपाल सरकारको स्वामित्व भएको कम्पनी हो। कम्पनीले विदेशी लगानी कसरी भिœयाउने भन्ने विषयमा टुंगो लगाउन सकेको छैन।

‘अब लगानी जुटाउने तयारीमा छौं, निजी कम्पनीहरूले पनि यसमा लगानी गर्न सक्छन्, तर विकासकर्ता नै ठूलो कम्पनी भएकाले लगानी गर्ने सम्भावना पनि छैन। त्यसैले बैंकबाट ऋण लिएर काम गर्ने भन्ने पनि कुरा आएको छ’, उनले भने। निर्माण सुरु भएको पाँच वर्षभित्रमा आयोजनाको काम सम्पन्न गर्ने योजना निर्माणकर्ता कम्पनीको रहेको छ। कम्पनीका अनुसार हाल जग्गा अधिग्रहण, क्याम्प, ट्रान्समिसन लाइनलगायतका काम भइरहेका छन्। आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ।

आयोजनाले कर्णाली नदी प्रवाहलाई विद्युत् उत्पादनका लागि प्रयोग गर्ने छ र उत्पादित विद्युत् रेजिलमा प्रस्तावित निकटतम ग्रिड सबस्टेसनमा नेपालको एकीकृत विद्युत् प्रणालीमा जोडिने छ। फुकोट–कर्णाली जलविद्युत् आयोजनाबाट कालिकोटको पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगर प्रभावित हुनेछन्। फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) अन्तिम चरणमा पुगेको छ। विद्युत् उत्पादन कम्पनीले तयार पारेको अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ईआईए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि बन तथा वातावरण मन्त्रालयमा पठाएको हो। सम्भाव्यता, डिटेल डिजाइन तथा बिडिङ डकुमेन्टलगायतका काम सकिसकेको र ईआईए रिपोर्ट स्वीकृति हुने क्रममा रहेको बताइएको छ। आयोजनाले सर्वेक्षण अनुमति पाएको भए पनि उत्पादनका लागि लाइसेन्स लिन बाँकी छ।

स्थानीयलाई १० प्रतिशत सेयर

फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने भएको छ। केही समयअगाडि स्थानीयलाई १० प्रतिशत सेयर दिने घोषणा गरेको थियो। आयोजना निर्माणबाट १ हजार १४९ परिवार प्रभावित भएका छन्।

आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख हिरामन वाइबाले जानकारी दिए।

वाइबाका अनुसार कम्पनीले ५० करोड रूपैयाँभन्दा बढी रकम मुआब्जा वितरण गरिसकेको छ। सो कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) हुन बाँकी छ। कम्पनीले परियोजनाको डीपीआर तयार गरी मूल्यांकनका क्रममा रहेको पनि वाइबाले बताए। परियोजनाको काम अगाडि बढाउनेबारेमा टुंग्याउन बाँकी छ।

www.nagariknews.com

प्रतिकृया दिनुहोस्