RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/२३ गते
४७९ पटक

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले नयाँ खालको तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको भन्दै विरोध गरेको छ।

सङ्गठनले सोमबार (आज) प्रेस विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखतसहितको राष्ट्रसेवक कर्मचारीहरूको आर्थिक वर्ष ०७९/०८० को बजेट वक्तव्यमा उल्लेख गरिएभन्दा नयाँ र फरक-फरक तलबमान प्रस्तुत गरेबाट आम राष्ट्रसेवक कर्मचारीहरूमा अन्योल बढाएको जनाएको छ।

आर्थिक वर्षको बजेट वक्तव्यले समान प्रतिशतमा तलब वृद्धि गर्ने मान्यता स्वीकार गरिसकेको अवस्थामा अर्थ मन्त्रालयका राजस्व सचिवको दस्तखत रहेको तलबमानमा उल्लिखित राजपत्राङ्कित पदहरूमा गरिएको तलब वृद्धिको समान अनुपातमा (प्रतिशतमा) र आधारमा राजपत्र अनङ्कित तथा श्रेणीविहीन कर्मचारीहरूको तलब वृद्धि गर्न अर्थ मन्त्रालयसँग सङ्गठनले माग गरेको हो ।

कर्मचारीको तलब वृद्धि प्रतिशतका आधारमा नभई श्रेणीविहीन पददेखि मुख्यसचिवसम्म समान अङ्कमा वृद्धि गर्नुपर्ने भए पनि आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्यमा राष्ट्रसेवक कर्मचारीहरूको तलबमान समान प्रतिशतमा वृद्धि गरिने विषय उल्लेख भएको र त्यहीअनुसार संघीय संसदबाट बजेट पारित भएको विज्ञप्तिमा उल्लेख छ।

सङ्गठनले कर्मचारीको तलब वृद्धि गर्दा राजपत्र अनङ्कित कर्मचारी र राजपत्राङ्कित कर्मचारीलगायत। प्रदेश र स्थानीय तहमा रहेका कर्मचारीबिचको तलबमानको अन्तर कम गर्नुपर्ने विगतदेखि सङ्गठनले उठाउँदै आएको माग राख्दै आएको थियो।

न्यायसङ्गत मागको तत्काल सुनुवाइ नभएमा राजपत्र अनङ्कित तथा श्रेणीविहीन कर्मचारीहरूलाई हुने अन्यायप्रति सङ्गठन जुनसुकै प्रकारका आन्दोलन वा विरोधका कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनी सङ्गठनले दिएको छ।

प्रतिकृया दिनुहोस्