RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/५/१ गते
८३० पटक

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।

आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार साँझसम्म आयोगमा ८४ दलले निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन दिएका हुन् ।

‘दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार साँझसम्म ८४ राजनीतिक दलको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन आएको छ,’ आयोग सहप्रवक्ता अर्यालले राजधानीसँग भने, ‘अब आयोगले प्राप्त कागजात हेरेर दर्ता प्रक्रिया अघि बढाउँछ, आवश्यक परे नपुग कागजात पनि मागिनेछ ।’

गत २० साउनसम्म १ सय १६ राजनीतिक दल दर्ता भएकोमा निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ८४ राजनीतिक दलले मात्रै दर्ता हुन निवेदन दिएको आयोगले जनाएको हो ।

यसअघि, २०७४ सालमा सम्पन्न निर्वाचनमा भने ८८ दलले निर्वाचनमा सहभागी हुन निवेदन दिएका थिए । यसपटक सो संख्या घटेको हो ।

आयोगमा मंगलबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलले दर्ताका लागि निवेदन दिएका थिए ।

गत २४ साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निवेदन दिएको नेकपा एमाले १०औं नम्बरमा छ ।यसैगरी, नेपाली कांग्रेस ७५औं र माओवादी केन्द्र ७१ नम्बरमा दर्ता भएको आयोग शाखा दर्ता नम्बरको रेकर्ड छ ।

त्यस्तै, पहिलो नम्बरमा जनमत पार्टी दर्ता भएको छ भने सबैभन्दा अन्तिममा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले दर्ताका लागि निवेदन दिएको छ ।

दवाडी मुख्य अधिकृत नियुक्त
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि मुख्य अधिकृत नियुक्त गरेको छ । आयोगले सचिव गोकर्णमणि दवाडीलाई मंगलबार समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य अधिकृत नियुक्त गरेको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत कार्यालय आयोग परिसरमै स्थापना गरिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचनमा सिंगो मुलुकलाई नै एक निर्वाचन क्षेत्र मानिन्छ ।

देशभर प्राप्त मतका आधारमा सिट बाँडफाँटसमेत गरिन्छ । यसका लागि दलहरूले उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्छ । सोही प्रयोजनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्