RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/३ गते
३४३ पटक

काठमाडौँ — नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । एमालेको केन्द्रीय पदाधिकारी तथा समानुपातिक सूचीबाट यसअघि सांसद भइसकेका नेताबाहेकका नेताहरूलाई समानुपातिक उम्मेदवार बनाएको छ ।

जसमा स्थायी कमिटी सदस्य रघुजी पन्त, गोरखबहादुर बोगटी, लिलबहादुर थापा, ईश्वरी रिजाल विश्वकर्मासहितका नेताहरू समानुपातिकको बन्द सूचीमा परेका छन् ।

महिलातर्फ नैनकला थापा, उमा कोइराला, सुनिता बराल, क्रान्ति बुर्लाकोटी, भक्तकुमारी लामा, मेनुका पछाईसहितका नेतृहरू रहेको एक सदस्यले बताए । समानुपातिकको सूचीमा पर्ने नेता रघुजी पन्त यसअघि ललितपुर ३ बाट निर्वाचित सांसद हुन् भने बोगटी कर्णाली प्रदेश कमिटीको पूर्वअध्यक्ष एवं पार्टीको पोलिटब्यूरो सदस्य हुन् ।

त्यस्तै बाग्लुङका थापा माओवादी केन्द्रबाट आएका नेता हुन् । रिजाल एमाले केन्द्रीय कार्यालयका पूर्वसचिव हुन् । नैनकला थापा पूर्वसञ्चारमन्त्री हुन् । उनी उपाध्यक्ष रामबहादुर थापाको पत्नी पनि हुन् । यस्तै सिन्धुलीकी कोइराला केन्द्रीय सदस्य हुन् भने सुनिता र मेनुका विद्यार्थी नेतृ हुन् ।

नेकपा एमालेले सोमबार आयोगको कार्यालयमा उनीहरूसहित ११० जनाको समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको हो । आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनका लागि दलहरूलाई आइतबार र सोमबार दुई दिनको अवधि दिएको थियो ।

 

प्रतिकृया दिनुहोस्